जुम्ला -प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति र प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्दै निकट सम्पर्कमा रहेर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले भारतका समकक्षी नरेन्द्र मोदी, पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारी र प्रधानमन्त्री शेहेवाज सरिफबाट बेग्लाबेग्लै प्राप्त बधाई सन्देशका निम्ति सामाजिक सञ्जालमार्फत कृतज्ञता ज्ञापन गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीको कार्यालयको पोस्टमा भनिएको छ, “PM@narendramodi, तपाईंको स्नेह र शुभकामनाका लागि धन्यवाद। हाम्रा दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई आमजनताको समृद्धिका लागि अघि बढाउन म तपाईंसँग निकट रहेर सहकार्य गर्न इच्छुक छु।”
त्यसैगरी प्रधानमन्त्री शाहका तर्फबाट पाकिस्तानका राष्ट्रपति, तपाईंको हार्दिक बधाइका शब्दका लागि धन्यवाद। म तपाईंको भावनाको प्रतिफलस्वरूप हाम्रो सम्बन्धलाई मैत्री र छिमेकीपना भावनाअनुरूप अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्याउँछु @PresOfPakistan भनिएको छ।
यसैगरी ‘प्रधानमन्त्री @CMShehbaz तपाईंको हार्दिक बधाइका लागि धन्यवाद। हाम्रो द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहकार्य अझ मजबुत बनाउने उद्देश्यले सँगै काम गर्न म तत्पर छु,” प्रधानमन्त्री शाहले भनेका छन्।

डिल्ली कामी । १४ चैत्र २०८२, शनिबार १८:२८