दशक अघिसम्म ताताेपनी गाउँपालिका ६का माङ्ले कामीको जीविकोपार्जनको बलियो माध्यम थियो आरन पेसा। उनी आरन पेसाबाट सहजै रुपमा घर खर्च चलाउँथे। तर पछिल्लो समयमा आधुनिकतासँगै भित्रिएको प्रविधिको कारण आरन पेसा सङ्कटमा पर्ने गरेको उन बताए।
अहिले आरनमा बनाउनु पर्ने सबै सामाग्री बजारमा सस्तो मूल्यमा पाउन थालेका छन्। जसले जुम्लाका आरन व्यवसायीको पेसा सङ्कटमा पर्न थालेको छ। पहिले आरनलाई पुर्ख्यौली पेसाको रुपमा अंगिकार गरिन्थ्यो। आरनमा फलामे सामग्री बनाए बापत नगद जिन्सीसमेत दिने चलन थियो। अहिले यो पेसा गुजारा चलाउने मात्र माध्यम बनेको छ। आरन पेसा छोडौँ त पुर्खाहरूको चिनो सङ्कटमा पर्ने चिन्ता छ।
माङ्लेले भने, नछोडौँ त गुजारा चलाउन कठिन छ। अहिले आरन व्यवसायीहरू धर्म सङ्कटमा छौँ। बदलिँदो परिस्थिति अनुसार व्यावसायिक बन्न समेत गाह्रो देखिएको उनीहरु बताउँछन्। जुम्लामा लुहार, विश्वकर्मा, कामी जातिका मान्छेले आरन चलाउँछन्। उनीहरुले पुर्ख्यौली पेसाका रुपमा यसलाई अहिलेसम्म ग्रहण गरिरहेका छन्। घरेलु औजारहरू र किसानलाई चाहिने आवश्यक सामग्री मात्र आरनमा बनिरहेका छन्। पहिले घरमै बसेर एक महिनामा दशदेखि पन्ध्र हजार रुपैयाँसम्म कमाइ हुने गरेको भएपनि अहिले निकै कम कमाइ हुने गरेको अनुभव उनीहरूसँग छ। अहिले आरन व्यवसाय गर्दा कमाइ अपेक्षाकृत हुन सक्दैन।
साेही वडाका दलिवर कामीभन्छ दिनप्रतिदिन यो पेसा छोड्नेको संख्या बढेको छ। अहिले आरनमा बनाएका कोदालो बन्चरोले आकार हेरेर ६ सय देखि एक हजार रुपैयाँसम्म मूल्य पाउँछन्। हँसिया एक सय पचासदेखि ३ सय रुपैयाँ सम्ममा बेचिरहेको आरनकर्मीहरू बताए।
व्यावसायिक रुपमा आरन पेसा अँगाल्न सके सहर नै पस्नुपर्छ भन्ने छैन। मेहनत र परिश्रम गरे फल जहाँ पनि पाइन्छ। उनीहरुले काम अनुसारको ज्याला नहुँदा धेरै व्यक्ति आरन थन्क्याएर विदेश हिँडेको अनुभव सुनाए।
काँचो फलामलाई तताएर विभिन्न प्रकारका सामान बनाएर पनि गतिलो आम्दानी गर्न सकिन्छ। २० वर्ष अघिदेखि आरन पेसा गरिरहेका उनले भने,काम गरे बापत वर्षमा धान, पिठो, चामल र गहुँ दिने चलन कायमै छ। हामीले वर्ष भरी भाँडाकुँडा बनाउँछौँ तर पैसा पाउँदैनौँ। खाद्यान्न मात्र पाउने गरेका छौँ। जसले गर्दा निकै घाटा हुने गरेको छ। खानलाई त जेनतेन खाद्यान्न जम्मा हुन्छ, तर एक सरो फेर्न पैसा अभाव झेलिरहनुपर्छ।
स्थानीय सरकारले आरन व्यवसायलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्नुपर्ने माग आरनकर्मीहरूको छ। अहिले बजारमा आएका औजार बनाउने गरी तालिमको प्रबन्ध हुनुपर्छ। सुलभ मूल्यमै किसानले आँगनमै फलामे सामाग्री पाउँछन्। पछिल्लो पुस्ताले आरन व्यवसायलाई रुचाउँदैन। गाउँघरमा कोइला अभाव हुन थालेको छ। जसले गर्दा आरन व्यवसाय नै धरापमा छ।
जिल्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकामा आरनकर्मीहरू छन्। उनीहरु पुर्ख्यौली पेसा जोगाउने भन्दै सानातिना काम मात्र गर्छन्। तर स्थानीय तहले आरनलाई व्यवसायकै रुपमा अघि बढाउनको लागि लगानी गरेको खण्डमा आरन पेसा प्रमुख आम्दानीको स्रोत बन्ने निश्चित रहेको जानकारहरू बताए।
जुम्ला दर्पण । ९ पुष २०७९, शनिबार २१:५२