जुम्लामा गाईजात्रा मनाउँदै जात्रा सुरु

जुम्ला : जुम्लामा जात्रा सुरु भएको छ । शुक्रबारबाट साताव्यापी जात्रा सुरु भएको हो । जात्रा समितिकाका अनुसार पहिलो दिन गाइजात्रा निकालेसँगै जात्रा सुरु भएको छ ।यो जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन सुरु भएर राम नवमीको दिन सकिन्छ।


जात्रा समितिका सचिव धनराज सुनारले दिवंगत भएका आफन्तहरुको सम्झना गर्दै उनीहरुको आत्म शान्तिको कामना गर्न गाईजात्रा पर्व मनाउन सुरु गरिएको बताए । साविक कर्णाली अन्चलको सदरमुकाम समेत रहेको जुम्ला उपत्यकामा नेवार समुदायको आगमन सँगै जात्रा भित्रिएको हो उनले बताए ।

यसपाली चन्दननाथ नगरपालिका विजयनगरबाट स्वर्गीय लालबहादुर थापा र श्रीकृष्ण टोलका स्वर्गीय मिनबहादुर सुनारको घरबाट गाईजात्रा निकालिएको थियो ।बजार परिक्रमा गर्दा श्रद्धालुहरुले गाईको पुच्छर समाइ वैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफूल, दही, चिउरा दान गर्ने चलन छ।


गाइजात्रा जुम्लामा वि.सं १९५३ सालबाट लगातार मनाइदै आएको छ।मृतकका घरबाट निकालिएको गाईलाई मुख्य बजारबाट कालेखोली हुँदै चन्दननाथ भैरवनाथ मन्दिरको परिक्रमा गरी पुरानो बसपार्क हुँदै जिप्रका, मुख्य बजारमा आएर समापन गरि मनाइन्छ।

जात्रामा संभावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ डीएसपी नरेन्द्र चन्दले बताए। जात्रा लक्षित गरि बजारमा खानेपानी र प्राथमिक स्वास्थ्य उपचारको बन्दोबस्त गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बताइन्।