जुम्लाको तातोपानी गाउँपालिकामा सहयात्रा तेस्रो परियोजना सञ्चालनमा

डिल्ली अन्जान

जुम्ला -जुम्लाको तातोपानी गाउँपालिकामा सहयात्रा तेस्रो परियोजना संचालन भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग,किर्डाक नेपालको साझेदारी तथा पालिकाको समन्वयमा तातोपानीमा सहयात्रा तेस्रो परियोजना संचालन भएको हो । शिक्षा क्षेत्रमा सुरुदेखिनै प्रथामिकता दिदै आएको तातोपानीमा सहयात्रा परियोजना संचालन संगै शैक्षिक सुधार,विपन्न वर्गको उत्थान,जलवायू अनुकुलन,सुशासन लगायतका क्षेत्रमा काम गर्न बाटो खुलेको छ ।

पाँच वर्षे अवधिको उक्त परियोजनाले तातोपानीको शिक्षा,स्वास्थ्य,जलवायु परिवर्तन लगायतका क्षेत्रमा अनुमानित २० करोड बढी लगानी गर्ने छ । जस अन्तर्गत पहिलो वर्ष २०२४ का लागि करिब चार करोड (तीन करोड ९८ लाख) लगानीमा सहयात्रा तेस्रो परियोजना संचालन हुने सेभ द चिल्ड्रेनले जनाएको छ।

परियोजनाले मुख्यगरी तातोपानीको शिक्षा,स्वास्थ्य,यौन तथा प्रजनन स्वास्थ्य,बाल अधिकार तथा संरक्षण,सुशासन,जीविकोपार्जन र जलवायू परिर्वतन लगायतका क्षेत्रमा काम गर्ने परियोजना प्रबन्धक कमल बहादुर महतले बताए । एक वर्षमा विनियोजित करिब ५ करोड बजेटबाट उल्लेखित पाँच शीर्षक अन्तर्गतका चेतनामुलक कार्यक्रम,तालिम,गोष्ठि, तथा उत्पादनमुलक विभिन्न गतिविधि संचालन गरिने छ ।

उनका अनुसार ग्रामिण क्षेत्रमा जोखिममा रहेका,बन्चितिकरणमा परेका बालबालिका,निशुल्क तथा गुणस्तरीय शिक्षा,बाल संरक्षण,यौन तथा प्रजनन स्वास्थ्य, उत्थानशिलको अधिकार सुरक्षित गर्दै सबै बालकालिकाको अधिकारको सुरक्षित गर्ने लगायतका क्षेत्रका काम गरिने जनाईएको छ ।

दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै शिक्षा स्वास्थ्यमा विपन्न समुदायको पहुँच विस्तारका लागि समेत ठोस रुपमा काम गर्ने योजना रहेको छ । सहयात्रा परियोजना आगामी सन् २०२८ सम्म संचालन हुने छ । जलवायु परिर्वतनले उत्पादन घट्ने,बालीनाली सुक्ने,किसानले श्रमनुसारको प्रतिफल नपाउने जस्ता समस्या रहेकोले जलवायू अनूकुलित कार्य गर्ने परियोजनाको लक्ष्य छ ।

आर्थिक सामाजिक लगायतका कारणले विद्यालय पहुँच सम्म पुग्न नसकेका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने,सिकाई अभिबृद्दि तथा अरुलाई प्रेरणा प्रदान गर्न पालिकाका २९ वटा विद्यालयमध्य केही विद्यालयलाई नमुनाका रुपमा विकास गर्ने गतिविधिहरु समेत संचालन गरिने परियोजनाको उदेश्य छ ।

 

बुधबार तातोपानीमा आयोजित सहयात्रा परियोजनाको परिचयात्मक कार्यक्रममा सहभागी सरोकारवालाले परियोजनाले वितरणमुखी भन्दा उत्पादनमुखी काम नगर्नु पर्ने बताए । अन्य कार्यक्रम संग दोहोरोपना नहुने गरि संख्यात्मक भन्दा गुणात्मक कार्यक्रम र दिर्घकालिन महत्व राख्ने जस्ता कार्यक्रमलाई अघि बढाउन समेत सुझाव दिए । साथै परियोजनाका असल अभ्यासलाई निरन्तरता दिने र पालिकाले पनि ती क्षेत्रमा लगानी बृद्दि गर्न ध्यान दिनु पर्नेमा स्थानीयको जोड छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले सरकार एक्लैले मात्रै सबै क्षेत्रको विकास सम्भव नरहेकोले दातृ निकायको सहयोग आबश्यक रहेको बताए । लामो प्रयासपछि पालिकामा संचालित सहयात्रा परियोजना सफल बनाउन र प्राप्त उपलब्धीको रक्षा र असल अभ्यासको निरन्तरतामा थप लगानी गर्ने अध्यक्ष चौलागाईको भनाई छ ।

उनले भने,‘सिमित स्रोतले असिमित आबश्यकता पुर्ति गर्न कठिनाई छ । दुर्गम गाउँमा अझै आधारभूत विकासको पहुँच पुग्न सकेको छैन् । वडाबाटै पूर्वाधार विकासका योजना बढी माग हुँदा शिक्षा,स्वास्थ्य,बालबालिकाका आधारभूत सवाल ओझेलमा परेका छन् । सहयात्रा परियोजना संचालनपछि पालिकाको विकासमा टेवा पुग्ने विश्वास छ ।’

किर्डाक नेपालले साढे दुई दशकदेखि कर्णालीको शिक्षा,सुशासन,संचार तथा पूर्वाधार विकासका लागि काम गर्दै आएको किर्डाकका जिल्ला संयोजक दिपराज रावतले बताए । २५ वर्षे यात्रामा दर्जनौ दातृनिकायको सहयोगमा कर्णाली,लुम्बिनी,गण्डकी र बाग्मति प्रदेशमा विकास तथा सुशासनका क्षेत्रमा काम गरेको उनको भनाई छ । उनका अनुसार सहयात्रा तेस्रो परियोजनाबाट मात्रै ७७ जनाले रोजगारी पाउने छन् ।

यता सेभ द चिल्ड्रेनका परियोजना व्यवस्थापक विष्णु कुमार बमले सहयात्रा परियोजना तातोपानी समृद्दीको कोशेढुंगा सावित हुने उल्लेख गरे । परियोजना सफल बनाउन पालिकाको सक्रियता र आम नागरिकको सहयोग तथा समन्वयमा निर्भर हुनेमा जोड दिए ।

  1. कार्यक्रममा बोल्दै वडाध्यक्ष छिरिङ महत,विव्यस अध्यक्ष आदी प्रसाद न्यौपाने,सर्वोदय नेपाल जुम्लाका अध्यक्ष नारायणी चौलागाई,सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलगाई,शिक्षा विकास तथा समन्वय ईकाई जुम्लाका प्रमुख लगायतका वक्ताले तातोपानीमा संचालन भएको सहयात्रा परियोजनाले यहाँको शिक्षा,स्वास्थ्य,जीविकोपार्जन,बाल संरक्षण क्षेत्रमा उल्लेखीय काम हुने बताए । साथै परियोजनालाई सफल बनाउन सबैले सहयोग तथा समन्वय गर्ने पनि उल्लेख गरेका छन् ।