चन्दननाथ र भैरवनाथ मन्दिरमा ठड्याइयाे ५२ हाते लिङ्गा

जुम्ला : जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको कर्णाली प्रदेशको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिंगो आज फेरिएको छ ।

हरेक वर्ष घटस्थापनाका दिन लिंग फेर्ने प्रचलन अनुसार यस वर्ष पनि लिंगो फेरिएको चन्दननाथ एवं भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए।

मन्दिरमा लिंगो ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ-आफ्ना घरमा घटस्थापना गर्छन् ।

`चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वजा राखिएको हुन्छ । भैरवनाथ मन्दिरको लिंगोमा ४८ हातको लिंगो र ४८ हातकै ध्वजा राख्ने चलन छ´, थापाले भने।

उनका अनुसार वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिंगोसहित ध्वजा राख्ने प्रचलन रहेको हो ।