जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको – ५ नम्बर वडालाई बुधबार एक कार्यक्रमका बीच बालविवाह मुक्त घोषणा गरिएको छ । पालिका जम्मा सात वटा वडामध्ये चारवटा वडा बालविवाह मुक्त घोषणा भएकाहुन । `बिहेवारी २० वर्ष पारि, हामी सबैको ऐक्यबद्धता, बाल बिवाहा मुक्त हिमा गाउँपालिकाको प्रतिबद्धता´भन्ने मूल नाराका साथ हिमा गाउँपालिका–५ लाई आज बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
पालिका भित्रका सबै वडालाई क्रमश रुपमा बाल विवाह मुक्त वडा घोषणा गरिने भएको छ । बाल बिवाह मुक्त वडा घोषणा हुने सबै सुचक पुरा गरि पालिकाको वडा नम्बर ५ लाई बाल बिवाह मुक्त वडा घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।
बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागु, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख राज्यलक्ष्मी रावलको भनाइ छ । पालिकाले बालविवाहविरुद्धको रणनीतिसमेत बनाइसकेको छ ।
आगामी दिनमा व्यवहारमा कार्यान्वयन गर्दै बालविवाह गर्ने विरुद्ध कडा रुपमा प्रस्तुत हुने गाउँपालिका प्रवक्ता रतन बहादुर शाहीले जानकारी दिए ।
नेपाललाई सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यअनुसार गैरसरकारी संस्थाहरुको सहयोग र समन्वयमा यहाँका स्थानीय तहले बालविवाहमुक्त वडा घोषणा गरिरहेका छन् ।
जुम्ला दर्पण । ७ फाल्गुन २०८१, बुधबार २१:३५