जुम्ला : जुम्लाको पातारासी गाउँपालिकाले एक वर्षमा दुई सय ६४ वटा आयोजना सम्पन्न गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ दुई सय ६८ योजना सम्झौता भएकोमा दुई सय ६४ आयोजना उपभोक्ता समिति र ठेक्का प्रक्रियाबाट निर्माण सम्पन्न भई संचालनमा आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रावलले बताए।
पालिकाको समग्र भौतिक प्रगति ८९ प्रतिशत भएको छ । उक्त आयोजनाका लागि रु १२ करोड ३६ लाख बजेट खर्च भएको छ । कूल योजनाको पाँच प्रतिशत रकमबाहेक अरु सबै योजना सम्पन्न गर्न पालिका सफल भएको प्रमुख प्रशासकीय अधिकृत रावलको भनाइ छ।
सो पालिकाले सोही आर्थिक वर्षमा दुई हजार मिटर सडक ग्राभेल निर्माण गरिएको छ। आठ हजार पाँच सय ८० मिटर ग्रामीण सडक निर्माण र १६ हजार दुई सय मिटर गोरेटो बाटो निर्माण गरेको गाउँपालिका योजना अधिकृत दानबहादुर शाहीले जानकारी दिए।
गत आवमा पालिकाको विनियोजित रु ४४ करोड ८५ लाख बजेटमध्ये कूल बजेटको जम्मा ८१ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ। पुँजीगततर्फ रु १७ करोड ६५ लाखमध्ये रु १२ करोड ४२ लाख अर्थात् ७० दशमलव ३४ प्रतिशत खर्च भएको छ । त्यस्तै चालुतर्फ रु २७ करोड २० लाखमध्ये २४ करोड ११ लाख अर्थात् ८८ दशमलव ६५ प्रतिशत खर्च भएको योजना अधिकृत शाहीको भनाइ छ।
भौगोलिक विकटता र गाउँबस्तीको आवश्यकतालाई मध्यनजर गर्दै भौतिक विकास पूर्वाधारलाई विशेष प्राथमिकता राखेर काम गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए। विकास निर्माणलाई सही रूपमा कार्यान्वयन गर्नेका लागि पालिकाले हरेक योजनाको अनुगमनलाई तीव्रता दिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ।
जुम्ला दर्पण । २० श्रावण २०८१, आईतवार ०८:४४