जुम्ला : जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्रममा नगएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आपत्ति जनाएका छन् ।
सम्पूर्ण तयारी पछि ओलीले हुकुमी शैलीमा आफू नआउने जानकारी गराएको उनले बताए ।
कर्णालीको दीक्षान्तमा ओली नगएपछि ज्ञानेन्द्र शाहीको आक्रोश– भएको खर्च ओलीको सम्पत्तिबाट असुल्नपर्छ
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद शाहीले तयारी पूरा भएपछि ओली नआएकाले भएको खर्च ओलीको व्यक्तिगत सम्पत्तिबाट असुल्नुपर्ने बताएका हुन् ।
‘देशको प्रधानमन्त्री बराबर झुट बोल्ने मान्छे कोही छैन होला । कर्णाली शिक्षा विज्ञान प्रतिष्ठानको दीक्षान्तमा सहभागी हुन झापादेखी कञ्चनपुरका ५८ जना जुम्ला गए । डा. सन्दुक रुइतदेखि हामी पुग्यौं । तर लास्टमा म आउँदिन भनेर भन्दिनु भयो । हुकुमी शासन हो ? भएको खर्च व्यक्तिगत सम्पत्तिबाट असुल गर्नुपर्छ,’ शाहीले भने ‘प्रधानमन्त्री बिरामी भएको भए, मौसम खराबी भएको भए स्वीकार्थ्यौं होला । भ्यूटावर भएको भए दौडेर जानु हुन्थ्यो ।’
भदौ २३ गते आइतबारको लागि तय गरिएको दीक्षान्त प्रधानमन्त्री एवं कुलपति अनुपस्थित भएपछि स्थगित भएको थियो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यार्थीहरू दीक्षित भए पनि दिक्षान्त समारोह पनि गर्न नपाएको बताएकी छिन्।
कर्णाली स्वास्थ्य प्रतिष्ठानका विद्यार्थीहरू मारमा परेको उनले बताएकी छिन्। संसद्को विशेष समयमा बोल्दै सांसद श्रेष्ठले एमाले र कांग्रेस निकट विद्यार्थी संगठनले विद्यार्थीको पढ्ने र परीक्षा दिने अधिकारबाट पनि बञ्जीत गरेको बताइन्।
सत्ता गठबन्धनका विद्यार्थी सङ्गठनका कारण विद्यार्थीले पढ्न र परीक्षा दिनसमेत नपाएको उन को दाबी छ। राणा शासनमा बरू एउटा कलेज खुलेको भन्ने सुनिन्छ। ओली शासनमा पढ्न, परीक्षा दिन र दीक्षित हुन नपाउने हो ? उनको प्रश्न छ।
‘विद्यार्थीहरुको दिक्षान्त समारोह पनि रोकि दिन्छौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दीक्षान्त समारोह राकियो । आइतवार हुनुपर्ने दीक्षान्त समारोह सबै जना विद्यार्थीहरू अब त दीक्षित भइन्छ भनेर गए ।
प्रमज्यूले, कुलपतिज्यूले राति म आउन सक्दिन कार्य व्यस्तता भनिदिनु भयो । कार्य व्यस्तता मिलाउन नसक्ने कस्तो कार्यक्षमतामाथि नै पटक पटक प्रश्न उठ्न थाल्यो ।
विद्यार्थीहरूको दीक्षित हुने राइट होइन त्यो ? हक अधिकार होइन ? सभामुख महोदय, म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भनिन्, ‘विद्यार्थीहरूको जीवनमा यस्तो जाँचमा खेलबाड नगरियोस् ।
आइतबारका लागि तय भएकाे दिक्षान्त समारोह ओली नआउने भएपछि स्थगित गरिएकाे थियाे ।
जुम्ला दर्पण । २४ भाद्र २०८१, सोमबार १६:२७