ऋण तिर्न जाजरकोटबाट जुम्ला पुगेका तीन बालक

जुम्ला : जाजरकाेटकाे बारेकाेट-३ स्याला गाउँका भीमराज शाही (१६) यतिबेला जुम्लामा छन् ।

तीनदिन पैदलै हिडेर जुम्ला पुगेका उनी गाउँघर डुल्दैछन् । तिला-१ रारालिही बजारमा सुपाे बेच्दै गर्दा भेटिएका उनीसँग तीनजना साथीपनि छन् । उनीहरू चार जनाकाे समूहमा छन् ।

 

`स्कुल विदा छ । अस्ति पुगेकाे हाे । दाईहरूसँग आएकाे हुँ ´, उनले भने । उनकाे घरमा आमा,बुवा र दिदी मात्रै छन् । भीमराज परिवारका कान्छा सदस्य हुन् ।

कुराकानीकाे क्रममा उनले विद्यालय विदाकाे माैकामा घरकाे ऋण तिर्न सुपाे र डालाे बेच्दै आएकाे बताए । उनी भन्छन्, `घरमा ऋण लागेकाे छ । सुपा बेचेर केही पैसा जम्मा हाेला तिरूला भनेर आएकाे हाे ।´


भीमराजका अनुसार भिनाजुलाई विदेश पठाउँदा ऋण लागेकाे हाे । उनका भिनाजु यतिबेला खाडीमा छन् ।

शाहीकाे घरकाे आर्थिक अवस्था कमजाेर छ । आम्दानीकाे कुनै स्राेत छैन । बुढा आमा बाबाले खेतीकिसानी गरेर घर व्यवहार धानिरहेका छन् । पढाइ खर्च जाेहाे गर्नसमेत धाैधाै हुने उनलाई पढाइ भन्दा साहूको ऋणकाे बढी चिन्ता छ ।

सुपाे र डालाे बेचेर कमाएकाे अलि पैसाले घर फर्केर ऋण तिर्ने साेच रहेकाे उनकाे भनाइ छ ।भीजराजसँगै जुम्ला पुगेका छन्,गाेविन्द बाेहाेरा (१६ ) । उनीपनि विद्यार्थी हुन् । बारेकाेट-३ स्थित वीरेन्द्र ऐश्वर्य माविमा पढ्छन् ।

एकमहिने वर्खे विदामा कमाइकाे लागि जुम्ला पुगेकाे उनले बताए । उनीहरू सुपाे र डालाे बिक्रीका लागि तिलाका विभिन्न गाउँ डुलिरहेका छन् ।

`जुम्ला आएकाे तीनदिन भयाे । दिनभर गाउँगाउँ डुल्छाै । साँझ हाेटलमा बस्छाै,´उनले भने । उनले पढाइ खर्च जाेहाे गनर्न आफू साथीहरूसँगै जुम्ला आएकाे बताए । सुपाे र डालाे बिक्री नहुँदासम्म यतै बस्ने बताए ।

भीमराम र गाेविन्दसँगै जुम्ला यात्रामा छन्, कक्षा १२ मा पढ्दै गरेका राजु बाेहाेरा (१९) । उनी पहिलोपटक जुम्ला पुगेका हुन्,त्याेपनि तीनदिने हिडेर । जाजरकोट र जुम्लाकाे सिमाना टाेप्ला हुँदै आएकाे उनले बताए ।

उनी भन्छन्,` हामी चारजना छाैँ । सुपाे र डालाे ल्याएका छाैँ । ठिकै बिक्री भइरहेकाे छ । सकिएपछि घर फर्किन्छाै । ´ उनीपनि पढाइ खर्च जाेहाे गर्न जुम्ला पुगेका हुन् ।

चारजनाकाे समूहमा रहेका जेष्ठ सदस्य हुन्,तिलक शाही ( ४०) । उनी भने जुम्ला आइरहन्छन् । धेरै वर्षदेखि व्यवसायकाे शिलशिलामा आइरहने गरेकाे बताए । उनका तिला-२ लर्मी गाउँमा आफन्त छन् ।

हामी हिडेरै आएका हाैँ सर । तीन जना केटा छन् । उनीहरू पहिलोपटक आएका हुन् । सबै व्यवस्थापन म गर्छु , ´ तिलकले भने ।

चारजनाले १३० वटा सुपाे र डालाे ल्याएका छन् । सबै बाेकेरै ल्याएका हुन् । सबै खरिद् गरेर ल्याएकाे उनले बताए । जाजरकोटमा खरिद् गर्दा एउटाकाे चार सय रूपैयाँ पर्छ । जुम्लामा भने प्रति सुपाे र डालाेकाे पाँच सयमा बिक्री गरिरहेका छन् ।