चन्दननाथ नगरपालिकालाई सचेत समुहका युवाहरूकाे १५ बुँदे ध्यानाकर्षण

जुम्ला : चन्दननाथ नगरपालिकाभित्रका सचेत युवाहरूले नगरपालिकालाई वडा नम्बर १० र समग्र नगरक्षेत्रका विविध विषयमा १५ बुँदे ध्यानाकर्षण गराएका छन् । शुक्रबार नगरप्रमुख राजुसिंह कठायतलाई मागपत्र बुझाउँदै विविध विषय समेटेर १५ बुँदामा ध्यानाकर्षण गराएका हुन् ।

सचेत समुहकाे तर्फबाट मागपत्र बुझाउँदै युवा लाेकेन्द्रराज गिरीले वडा नम्बर १० मा भैरहेको सडक निर्माण र पीच गर्ने भनिएको काम छिटाे सुचारू गर्न, २०६६ सालदेखि बनेका सडकहरुको लागत कट्टा हालसम्म हुन नसकेकाे र कर असुली भइरहेकाे र धौलीगाड परियोजना अन्तर्गत पाइप खन्ने काम न्युनतम मापदण्ड भन्दापनि कम गहिराइमा पाइपहरु दबाईएकाकाले पुन:निर्माण गर्न माग गरिएकाे बताए ।

उक्त पत्रमा चन्दननाथ नगरपालिका भित्रका सबै वडाहरुमा ढल निर्माण गर्नुका साथै फोहोर ब्यबस्थापन गर्न सबै वडामा गाडी पुर्याउनुपर्ने,फोहोरजन्य पदार्थलाई व्यवस्थित गरी नगरलाई फोहोररहित बनाउन लाग्नुपर्ने, नयाँ बिस्तारित बजार क्षेत्र उमगाड दानसाघु लगायत आदि ठाउको पनि फोहोर ब्यबस्थापनमा ध्यानदिनु पर्ने उल्लेख गरिएकाे छ ।

 

स्थानीय सरकारले बजेट, नीति तथा कार्यक्रमहरुमा आयआर्जन, सिप तथा क्षमता विकासका लागि बस्तिस्थर बाट मागमा आधारित भएर रोजगारीका कार्यक्रमहरुको योजना तर्जुमा गरि कार्यन्वयन गर्न,नगरपालिकाले गरेका गुरुयोजना बनाई आवधि क्षेत्र, औद्याेगिक क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्र, पर्यटन क्षेत्र र शहरी क्षेत्र छुट्याउनुपर्ने र बजार क्षेत्रमा अव्यवस्थित पार्किङ भैरहेको हुनाले सर्वसाधारण जनतामा परेको असरलाई मध्यनजर गर्दै कम्तिमा पनि बसपार्क क्षेत्र, पुरानो बजार क्षेत्र, पुरानो विजयनगर, तलिउम, कालेखाेली क्षेत्र, एयरपाेर्ट क्षेत्रमा तत्काल पार्किङको व्यवस्था गर्न आग्रह गरिएकाे छ ।

नगर क्षेत्रका वन अतिक्रमण नियन्त्रण र वन संरक्षणका कार्य सुरू गर्न, वडा नम्बर२,३,४,९ र १० भित्र पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा भएको नियोजित अतिक्रमण राेक्नुपर्ने र वडा नम्बर १,३,७ र ९ मा रहेको खाली पाखोमा वृक्षारोपण कार्यक्रम सन्चालन गरि वन क्षेत्र विस्तारमा क्षेत्रमा ध्यान दिन, नगर क्षेत्र भित्रको शैक्षिक गुणस्तर वृद्धि गर्न, परिक्षा प्रणालीमा एकरुपता, विश्वसनियता कायम गरि शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने माग गरिएकाे उनले बताए ।

गिरीका अनुसार पर्यटन पुर्वाधार तथा साँस्कृतिक सम्पदाको महत्व बढाउनको लागि धार्मिक तथा साँस्कृतिक सम्पदा सम्बन्धि जानकारी पत्र तयार पारिनुपर्ने, चन्दननाथ भैरवनाथ मन्दिरलाई ओझेलमा पार्ने गरि बनिरहेका बनेका संरचनाहरु कानून विपरित रहे नरहेको एकिन गरी कारबाही अगाडी बढाइएकाे छ । ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख कठायतले मागहरू जायज भएकाे भन्दै माग पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।