जुम्लाका युवाको कथामा आधारित चलचित्र प्रकाशका टोली नेपालगन्जमा

दर्पण संवाददाता, नेपालगन्ज
नेपाली चलचित्र ‘प्रकाश’ आगामी भदौ १० गते नेपालभर प्रर्दशन हुँदैछ । साविक कर्णालीको सदरमुकाम जुम्लाका एक विकट गाउँका युवाको कथा बोकेको चलचित्र अगस्ट २६ तारिख अर्थात भदौ १० गते मा प्रदर्शन हुने भएको हो । प्रकाशको टिमले बिहीबार नेपालगन्जमा पत्रकार सम्मलेन आयोजना गरेको छ ।

जुम्लाको एक युवकले सरकारी शिक्षक बन्ने सपनाको कथा हो । चलचित्रको दिनेश राउतको निर्देशन छ । चलचित्रमा नयक प्रदीप खड्का र नायिका रेणु योगीको मुख्य भूमिका रहेको छ । चलचित्रमा कलाकारहरु दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, नीरज पन्थीलाई देख्न सकिने छ ।

विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्वपश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गर्छ। समाज, राजनीति, पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ। आगामी १० भदौदेखि प्रदर्शनमा आउने फिल्म बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन्। पत्रकार सम्मेलनमा नायक प्रदिप खड्काले प्रकाश आफ्नो चलचित्र करिअरकै महत्वपूर्ण चलचित्र भएको बताएका छन् ।

दिया मास्के भन्छिन् : जुम्लाको जीवनले धेरै प्रेरणा दिएको छ

दिया मास्के आउँदो फिल्म ‘प्रकाश’ मा सीताको भूमिकामा छिन्। उनले घरमुलीको भूमिका निर्वाह गरेकी हुन्। त्यसैले त टेलिभिजन शो ‘रोडिज’ मा मोडर्न देखिने दिया यसमा जुम्लाकी एक सामान्य महिलाको रूपमा प्रस्तुत छिन्।

 

उनले आफ्नो भूमिकालाई जीवन्त बनाउन कुनै कसर बाँकी राखेकी छैनिन्। जुम्लामा ४५ दिनको हाराहारीमा छायांकन भए पनि उनी त्यहाँ दुई महिना बसेकी थिइन्। उनी त्यहाँ दुई साता बढी बस्नुको कारण भूमिकालाई जीवन्त बनाउनु थियो।

सम्पन्नतामा बाल्यकाल बिताएकी मात्र नभई एसएलसीपछि नेपाली भाषा जानेकी दियाले क्यारेक्टरलाई जीवन्त बनाउन गरेको मेहनत त प्रशंसायोग्य छ नै, साथै उनले स्वीकारेको भूमिका पनि आफैँमा च्यालेन्जिङ छ। किनकि उनले अभिनेता प्रदीप खड्काको आमाको भूमिका निर्वाह गरेकी छिन्। उनी आफ्नो उमेरभन्दा बढी उमेरको भूमिकामा प्रस्तुत भएकी छिन्।

श्रीमान् नभए पनि छोरालाई शिक्षक बनाउन संघर्ष गरेकी महिला हुन्-  सीता। आफ्नो परिवारको निर्णय आफैँले लिनुपर्ने, घरमुलीको दायित्व निर्वाह गर्नुपर्ने सीताले जुम्लाको द्वन्द्वपछि श्रीमान् नभएकी एकल महिलाको भूमिका निभाएकी हुन्। उनी सक्षम छिन्, तर उनलाई सघाउन नयाँ व्यवस्था मितव्ययी छैन। त्यसैले उनी श्रीमानको सपनालाई पूरा गर्न र छोरा शिक्षक बनेको हेर्न संघर्षरत छिन्।