तिलागुफा नगरपालिकामा २ दिने प्राथमिक उपचार तालिम सम्पन्न, विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा जोड

पेश नेपाल जुम्लाको आयोजना तथा कारितास जर्मन, कारितास नेपाल र तिलागुफा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित “उत्थान” परियोजना अन्तर्गत २०८३ साल असार २० र २१ गते (जुलाई ४–५, २०२६) दुई दिने प्राथमिक उपचार तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

पेश नेपालका फिल्ड अफिसर बिर्ख विष्टका अनुसार
तालिममा तिलागुफा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरू, कर्मचारीहरू, वडा स्तरीय विपद् कार्यदलका सदस्यहरू तथा वडा नं. १ देखि ११ सम्मका वडा विपद् व्यवस्थापन समितिका सदस्यहरूको सहभागिता रहेको बताए । तालिममा ४ जना महिला र २२ जना पुरुष गरी जम्मा २६ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
तालिममार्फत सहभागीहरूले विपद् तथा आकस्मिक अवस्थाहरूमा घाइते व्यक्तिलाई सुरक्षित, प्रभावकारी र समयमै प्राथमिक उपचार प्रदान गर्ने व्यावहारिक सीप तथा आवश्यक ज्ञान हासिल गरेका छन्। प्राप्त ज्ञान र सीपले स्थानीय तहको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्नुका साथै समुदायमा हुने सम्भावित जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
कार्यक्रमको समापनमा आयोजकले तालिमलाई सफल बनाउन सहयोग पुर्‍याउने कारितास जर्मन, कारितास नेपाल, तिलागुफा नगरपालिका, नगर विपद् व्यवस्थापन शाखा, प्रशिक्षकहरू तथा सम्पूर्ण सहभागीहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।