विद्यालयको अनुगमन प्रतिवेदन बुझाइयो, शैक्षिक सुधारमा तातोपानीको प्रतिबद्धता

जुम्ला – तातोपानी गाउँपालिकाको गाउँ शिक्षा समितिले पालिकाभित्र रहेका २९ वटै सामुदायिक विद्यालयको अनुगमन सम्पन्न गरी त्यसको प्रतिवेदन गाउँ शिक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंलाई बुझाएको छ।
प्रतिवेदन बुझ्दै अध्यक्ष चौलागाईंले अनुगमनबाट प्राप्त सुझाव, समस्या र चुनौतीका आधारमा पालिकाले आवश्यक सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले अनुगमन गरिएको उल्लेख गर्दै उनले शैक्षिक सुधारका लागि आवश्यक पहल र समाधानका प्रयासलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताए।
“अनुगमनबाट देखिएका समस्या, चुनौती र सुधारका सुझावलाई गम्भीर रूपमा लिएर समाधानका लागि सक्दो पहल गर्छौं,” अध्यक्ष चौलागाईंले भने, “तातोपानी गाउँपालिका शैक्षिक सुधारमा सधैं अग्रसर रहनेछ।”
अनुगमन टोलीका तर्फबाट लोक बहादुर शाहीले प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक विद्यालयहरूमा पूर्वाधार, शैक्षिक गुणस्तर तथा व्यवस्थापनसँग सम्बन्धित विभिन्न समस्या रहेको उल्लेख गरे। उनले प्रतिवेदनमा समेटिएका विषयहरूलाई पालिकाले कार्यान्वयन गर्दै विद्यालयहरूको अवस्था सुधार गर्नेमा पूर्ण विश्वास व्यक्त गरे।
गाउँ शिक्षा समितिले अनुगमन प्रतिवेदनलाई आगामी शैक्षिक योजना तथा सुधारका कार्यक्रम निर्माणका लागि महत्वपूर्ण आधारका रूपमा लिइएको जनाएको छ।