काठमाडौँ : कवि केशव निमेषको कविता सङग्रह ‘मृत्युगञ्जको मौनता’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष समारोहबीच कविता सङग्रह ‘मृत्युगञ्जको मौनता’ सार्वजनिक गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको कविता सङग्रह ‘मृत्युगञ्जको मौनता’ को एक भव्य समारोहका बीच साहित्य, राजनीति र सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राईले ‘मृत्युगञ्जको मौनता’ समकालीन नेपाली समाजका अन्तर्विरोध, मानवीय संवेदना र समयको गहिरो बेचैनीलाई कवितामार्फत सशक्त ढङ्गले अभिव्यक्त गर्ने कृति भएको बताए ।
उनले केशव निमेषका कविताले युगीन चेतना, प्रतिरोध र मानवीय मूल्यलाई कलात्मक रूपमा प्रस्तुत गरेको उल्लेख गरे । उनले कविता सङग्रह ‘मृत्युगञ्जको मौनता’लाई समकालीन नेपाली कवितामा अर्थपूर्ण योगदान हुने विश्वास व्यक्त गरेका थिए । सामाजिक अभियन्ता तथा कवि अस्मिता वादीले कविता सङग्रहले समाजमा दबिएका आवाज,मौन बनाइएका जीवन र सीमान्तकृत समुदायका अनुभूतिलाई संवेदनशील रूपमा अभिव्यक्त गरेको बताइन् । उनले साहित्य केवल सौन्दर्यबोधको विषय नभई सामाजिक रुपान्तरणको माध्यमपनि भएको उल्लेख गरिन् । उनका अनुसार कवि निमेषका कविताले पाठकलाई सोच्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्छन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद सुरेश कुमार चौधरी, खड्गबहादुर बुढा र रमेश मल्लले कविता सङग्रहमाथि शुभकामना तथा समीक्षा प्रस्तुत गरेका थिए । उनीहरुले साहित्यले समाजलाई मानवीय, संवेदनशील र लोकतान्त्रिक चेतनातर्फ डो¥याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै ‘मृत्युगञ्जको मौनता’ ले समकालीन नेपाली समाजका यथार्थलाई प्रभावकारी ढंगले उजागर गरेको धारणा व्यक्त गरे । कार्यक्रमको प्रारम्भमा शिखा बुक्सका प्रकाशक पुष्पराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्य सिर्जना र प्रकाशनलाई निरन्तरता दिन पाठक, लेखक र प्रकाशकबीचको सहकार्य आवश्यक रहेको बताए ।
उनले गुणस्तरीय नेपाली साहित्यलाई पाठकमाझ पु¥याउने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रमको अन्त्यमा कवि केशव निमेषले आफ्नो लेखन यात्राका अनुभव साझा गर्दै कविता आफ्नो समय, समाज र मानिससँगको निरन्तर संवाद भएको बताउनुभयो। उहाँले ‘मृत्युगञ्जको मौनता’ आफ्ना व्यक्तिगत अनुभूति मात्र नभई समाजका असंख्य आवाजहरुको प्रतिनिधित्व गर्ने प्रयास भएको उल्लेख गरे । कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै कवि निमेषले पाठकको प्रतिक्रियाले आफ्नो आगामी सिर्जनालाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।
को हुन् कवि केशव निमेष
बाँकेको कोहलपुर–१२ चप्परगौडीमा जन्मिएका कवि केशव निमेषको पुख्र्यौली घर जाजरकोट जिल्ला हो । सानै उमेरदेखि नै साहित्यप्रति चासो राख्ने निमेशले नेपाल राष्ट्रिय माविमा कक्षा पाँचसम्म अध्ययन गरेका छन् । ज्ञानज्योति माविबाट कक्षा ६ देखि १२ सम्म अध्ययन गरेका हुन् । वागेश्वरी बहुमुखी क्याम्पसबाट स्नातक तहसम्म अध्ययन गरेका निमेश सानै उमेदेखि कविता लेख्थे । त्यसपछि उनी गजल विधातर्फ आर्कषित भए । फेरि उनी कवितामै फर्किए ।

मृत्युगन्जको मौनता उनको पहिलो साहित्यिक कृति हो । युवा कवि केशव निमेषले ‘मृत्युगन्जको मौनता’ कविता सङ्ग्रह प्रकाशनमा ल्याएका छन् । कवि निमेशको यो पहिलो कविता कृति हो । कविता सङ्ग्रहमा कूल ३२ कविता सङ्ग्रहित छन् । कविताहरुलाई तीन उपशीर्षकमा विभाजन गरिएको छ । पहिलो हो,आक्रोशको आँधी । यसभित्र आठ वटा कविता रहेका छन् । दोस्रो–विचारको कारखाना । यसभित्र कूल १३ वटा कविता समावेश छन् । स्मृतिका जलकुम्भीहरुमा जम्मा ११ वटा कविताहरु सङ्ग्रहित गरिएका छन् । उनी हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका सचिवसमेत हुन् ।

जुम्ला दर्पण । २७ असार २०८३, शनिबार १८:४२