जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ६ मा भारी वर्षाका कारण दुई वटा खोलामा बाढी जाँदा खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको छ ।

विहीबार विहान विहान साढे २ बजेतिर वडा नम्बर ६ का रावतबाडा र खड्काबाडा जोड्ने खोला र वडा नम्बर ६ कै खड्कबाडा र जेठीबाडा जोड्ने खोलामा बाढी जादाँ चार वटा बस्तीमा खेतीयोग्य जमिनमा ठूलो क्षति पुयाएको हो ।

ठूलो बाढीका कारण मार्सीधान फल्ने जिउलो र माथिल्लो भागमा कोदो र सिमी फल्ने खेतहरुमा ठूलो क्षति पुगेको वडा नम्बर ६ को कार्यालयले जनाएको छ । वडा अध्यक्ष विशाख खड्काका अनुसार बाढीका कारण ५ हेक्टर जमिनमा क्षति पुगेको छ ।

उनले भने,‘बाढीसँगै बालुवा मात्रै आएको छैन । ठूलो मात्रामा ढुंगा गिट्टीसमेत आएको छ । तत्काल पहिल्य कै अवस्थामा पुयाउन निकै कठिन देखिन्छ । वडामा धेरै ठूलो क्षति पुगेको छ । हामी निकै दुःखी भएका छौँ ।’ बाढीका कारण कर्णाली राजमार्गसमेत अवरुद्ध भएकोले डोजरले बाटो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ ।
अब क्षतिको लागत संकलन गर्ने र गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिमार्फत पीडितहरुलाई राहत प्रदानका लागि पहल गरिने वडा अध्यक्ष खड्काले जुम्ला दर्पणलाई जानकारी दिएका छन् । वडामा पुगेको क्षति कम गर्न र पीडित किसानहरुलाई राहत प्रदान गर्नको लागि जिल्ला विपद् व्यवस्थापन समिति,संघ संस्था लगायतका क्षेत्रमा वडाको तर्फबाट पहल गरिनेसमेत उनले जानकारी दिए ।
खेतीयोग्य जमिनलाई पहिले कै अवस्थामा ल्याउनको लागि सम्पूर्ण सरोकारवाला र वडाबासीको सहयोगको अपेक्षा गरिएको वडा अध्यक्ष खड्काले बताएका छन् ।
तातोपानी गाउँपालिकाले कुलो मर्मतका लागि दुई लाख दिने
तातोपानी गाउँपालिका वडा नम्बर ६ मा वाढीले ठूलो क्षति गरेपछि तातोपानी गाउँपालिकाले स्थलगत अवलोकन गरेको छ । गाउँपालिकाका अध्यक्ष नन्द्रप्रसाद चौलागाईसहित सरोकारवालाको टोलीले बाढीले क्षति गरेको क्षेत्रमा स्थलगत अनुगमन गरेको हो ।

स्थलगत अनुगमनका लागि वडा नम्बर ६ मा पुगेका तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँई अकस्मातको बाढी प्रति गाउँपालिका दुःखी भएको बताए । उनका अनुसार बाढी प्रभावित क्षेत्र पुनर्निर्माणका लागि गाउँपालिकाले पहल कदमी थालेको छ । तत्काल कार्यपालिका बैठक बसालेर सिँचाई कुलो मर्मतका लागि निर्णय समेत गरिएको उनले बताए ।


कार्यपालिका बैठकबाट उक्त क्षेत्रको सिँचाई कुलोमा क्षति पुगेका मर्मतका लागि दुई लाख विनियोजन गरिएको अध्यक्ष चौलागाईको भनाइ छ । साथै बाढीले ६ नम्बर वडामा पुराएको क्षतिको एकिन विवरण संकलनका लागि कृषि विकास कार्यालयको टोलीलाई स्थलगत अध्ययन गरी प्रतिवेदन ल्याउन समेत निर्देशन दिइएको छ ।


शुभाकर विश्वकर्मा । १८ असार २०८३, बिहीबार २१:२०