बाँके : बाँकेको कोहलपुरमा जारी लुम्बिनी युवा सम्मेलन एवम् युथ फेस्टिवल–२०८१ सकिएको छ । कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जाल कोहलपुर बाँकेको आयोजनामा फागुन १५ देखि सुरु भएको लुम्बिनी युवा सम्मेलन एवम् युथ फेस्टिवल–२०८१ सकिएको हो ।
फेस्टिवलको पहिलो दिन सांस्कृतिक महोत्सव ‐कला र संस्कृतिको प्रदर्शन, प्रतियोगिता र प्रदर्शनी), दोस्रो दिन युवा महोत्सव एवम् बहस कार्यक्रम ‐विभिन्न युवाहरुका मुद्दाहरुमा खुल्ला बहस) र तेस्रो दिन शैक्षिक महोत्सव ‐शैक्षिक विषयहरुमा प्रदर्शनी र बहस) भएका थिए ।
फेस्टिवल अवधिभर कला र संस्कृतिको प्रदर्शन, प्रतियोगिता र प्रदर्शनी, दोस्रो दिन विषयमा समूहगत छलफल र तेस्रो दिन कृषि प्रदर्शनीसहित सकिएको अध्यक्ष रमेश वरले जानकारी दिए । उनका अनुसार फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ । ‘ बाँकेको कोहलपुरमा पहिलोपटक आयोजना गरिएको फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ । यसमा लुम्बिनी प्रदेशभरीका युवाहरुको सहभागिता रहेको थियो । फेस्टिवल अवधिभर हामीले विभिन्न विषयमा छलफल गरेका छौँ । यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनेछन्,’ अध्यक्ष वरले भने ।
कार्यक्रमका मुख्य आकर्षणका रुपमा राजनीतिमा युवा, सामाजिक परिवर्तनका लागि युवा र जलवायु परिवर्तनमा युवा, भ्वाइस अफ लुम्बिनी ः युवा शसक्तीकरण, संस्कृतिको प्रदर्शनी र आदानप्रदान र युथ फर चेन्ज लगायत रहेका थिए । समूहगत सांस्कृतिक नृत्य प्रतियोगिता, सार्वजनिक वक्तृत्व प्रतियोगिता र विभिन्न स्टल प्रदर्शनी गरिएको थियो । लुम्बिनी युवा सम्मेलन एवम् युथ फेस्टिवल–२०८१ मा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका युवाहरुको सहभागिता रहेको थियो ।
युथ फेस्टिवलको सह आयोजकको रुपमा पर्यावरणीय कृषिका लागि लुम्बिनी प्रदेशस्तरीय युवा सञ्जाल रहेको छ भने मुख्य संरक्षकको रुपमा कोहलपुर नगरपालिका रहेको थियो ।
जुम्ला दर्पण । १७ फाल्गुन २०८१, शनिबार २२:२९