दैशैभरिका मिटरब्याजी पीडित सरकारलाई दबाब दिन काठमाण्डौ आउने तयारीमा

काठमाण्डौ – सरकारलाई दबाब दिन दैशैभरिका मिटरब्याजी पीडितले काठमाण्डौ आउने तयारी गरेका छन् । काठमाण्डौ आएर धर्नामा बसेका केही मिटरब्याजीको समस्या समाधानका लागि सरकारले कार्यदल गठन गरे पनि न्याय पाउने सम्भावना कम रहेको भन्दै देशैभरका पीडित काठमाण्डौ आउने तयारी गरेका हुन् ।

पीडितले मिटरब्याज असुलीमा संलग्नलाई कारबाही गर्ने कुरा लिखितमा नभइ मौखिकमा मात्र आएकाले विश्वास गर्ने कुनै आधार नभएको बताएका छन् । सरकारको निर्णयपछि दबाब दिन देशैभरिका पीडितलाई माइतीघर बोलाएको नवलपरासीका मिटरब्याजी पीडित जितबहादुर थापा मगरले बताए ।

थापाका अनुसार कैलाली र दाङबाट बिहीवार राति मिटरब्याजी पीडित काठमाण्डौ आउँदैछन् । भोलि शुक्रवार कपिलवस्तु र त्यसैगरी पूर्वी जिल्लाबाट पनि पीडित काठमाण्डौ आउन लागेको उनले बताए । यो देशैभरिको समस्या भएको र सबैको समस्याको समाधान एकैचोटि गर्नुपर्ने बताए ।

काठमाण्डौको माइतीघरमा न्याय माग्दै धर्ना दिएका नवलपरासीका मिटरब्याजी पीडितले न्याय नपाइ गाउँ नफर्किने निधो गरेका छन् । उनीहरू धर्नामा बसेको आज १८ दिन भइसकेको छ ।