जुम्ला — जुम्लाको हिमा गाउँपालिकाले केन्द्र सरकारको राष्ट्रिय पुनस्निर्माण कोषमा पठाउने निर्णय गरेको छ । बिहीबार बसेको गाउँकार्यपालिका बैठकले कर्मचारीको तीन दिनको र जनप्रतिनिधिको ६ दिनको तलब बापतको रकम कोषलाई प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त कार्यरत कर्मचारी र जनप्रतिनिधिले आफ्नो तलब भत्ताबापत आउने रकमबाट जम्मा गर्नेछन् । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार कर्मचारी र जनप्रतिनिधिको गरेर कुल ११ लाख ४३ हजार २ सय ९७ रुपैयाँ पुननिर्माण कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने हेतुले कर्मचारी र जनप्रतिनिधिको तलब भत्ताबापतको यो रकम कोषमा जम्मा गर्न लागिएको अध्यक्ष शाहीले बताए ।
शाही विज्ञप्तिमार्फत राष्ट्र निर्माणको महाभियानमा हिमा गाउँपालिका पनि सहभागी भएको बताए । गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरुप्रति श्रदाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

जुम्ला दर्पण । २ आश्विन २०८२, बिहीबार २०:२५