जुम्लामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

जुम्ला । जुम्लामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार जिल्ला अदालत जुम्लामा औपचारिक रूपमा कार्यालय स्थापना गरिएको हो।
कार्यालय स्थापना कार्यक्रममा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्त, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जुम्लामा पनि कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पन्तले जानकारी दिनुभयो।
उहाँका अनुसार देश निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेकाले जुम्लामा शान्त, सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै संयन्त्र परिचालन गरिनेछ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच समन्वय गरेर काम गरिने उहाँले बताउनुभयो।