जुम्ला -तातोपानी गाउँपालिकामा बाल अधिकार तथा बाल प्रवर्द्धन सम्बन्धी नागरिक समाज गैरसरकारी संस्था र सरकारी निकायबीच महत्वपूर्ण अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा किर्डाक नेपाल–जुम्ला द्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजना को समन्वय र राष्ट्रिय मानव अधिकार आयोग जुम्लाको सहजीकरणमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।
कार्यक्रममा बाल अधिकारका सिद्धान्त, कानुनी ढाँचा, राज्य तथा संस्थाको भूमिकाबारे साझा बुझाइ विकसित गर्नु, सरकारी निकाय, नागरिक समाज, शिक्षक, समुदाय तथा स्थानीय संरचनाबीच सहकार्य बढाउने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै बाल संरक्षण, अनुगमन तथा सेवाप्रवाहमा एकीकृत कार्ययोजना तयार पार्ने विषयमा समेत सहभागीहरूले महत्वपूर्ण सुझाव दिएका थिए।
कार्यक्रमको सहजीकरण राष्ट्रिय मानव अधिकार आयोग जुम्ला–मुगु प्रमुख कल्पना नेपाल आचार्यले गर्नुभएको थियो।
तातोपानी गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तथा बाल कल्याण अधिकारी शान्ती भंक्री सेजुवालका अनुसार गाउँपालिकाले बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूको क्षेत्रमा अनुसरणीय कार्य गर्दै आएको उल्लेख गर्नुभयो। बालबालिका समस्या परेमा तत्काल उद्धार तथा सहयोगका लागि बाल कोष स्थापना र परिचालन गरिएको र बालबालिका सम्बन्धी नीति तथा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो।
सेभ द चिल्ड्रेन र किर्डाक नेपालको सहयोगमा तातोपानी गाउँपालिका बालमैत्री स्थानीय शासन कार्यान्वयनमा अघि बढिरहेको पनि उहाँले बताउनुभयो।
त्यसैगरी नागरिक समाज संयोजक प्रेम बहादुर अधिकारीले पालिकाभित्र विद्यमान सबै प्रकारका हिंसा र दुर्व्यवहार अन्त्य गर्न सामूहिक कार्ययोजना आवश्यक पर्ने बताउँदै सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको अध्यक्षता पनि प्रेम बहादुर अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिमा कल्पना नेपाल आचार्य रहनुभएको थियो।
किर्डाक नेपाल तातोपानी क्लस्टर प्रमुख राम बहादुर रावतले बाल अधिकार, शिक्षा, स्वास्थ्य तथा जलवायु परिवर्तनजस्ता क्षेत्रमा नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै, मानव अधिकार आयोगले गर्ने कार्यहरूबारे सहभागीहरूलाई जानकारी गराउनुभयो।
यस अन्तर्क्रियाले तातोपानी गाउँपालिकामा बाल अधिकार संरक्षण र प्रवर्द्धनका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य थप सुदृढ भएको सहयात्रा तेस्रो परियोजना संयोजक प्रकाश बहादुर शाहीले विश्वास व्यक्त गर्नुभएको छ ।

डिल्ली कामी । १ मंसिर २०८२, आईतवार २३:२९