सिञ्जा सभ्यता जाेगाउन तीन स्थानीय तह एकजुट

जुम्ला : जिल्लाकाे सिञ्जा क्षेत्रका तीन स्थानीय तह सम्मिलित अन्तर पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएकाे छ । सिञ्जा क्षेत्रमा रहेका हिमा,सिञ्जा र कनकासुन्दरी गाउँपालिकाका जनप्रतिनिधिहरूकाे सहभागितामा बैठक सम्पन्न भएकाे हाे ।

तीन वटै पालिकाका अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरूकाे सहभागितामा हिमा गाउँपालिकामा बैठक सम्पन्न भएकाे हाे । खस नेपाली भाषाकाे उदगम् थलाे सिञ्जा क्षेत्रकाे बृहत् हितका लागि ऐतिहासिक छलफल भएकाे हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।

उनका अनुसार समग्र सिञ्जा क्षेत्रकाे विकासका लागि तीन पालिकाबीच महत्त्वपूर्ण छलफल भएकाे छ ।
`सिञ्जा सभ्यता,समग्र सिञ्जाको विकासका विषयमा छलफल भयाे । यस्तै यहाँकाे सांस्कृतिक रितिरिवाज,धार्मिक परम्परा,ऐतिहासिक धरोहर संरक्षणका लागि पनि गम्भीर रूपमा बहस भएकाे छ,´अध्यक्ष शाहीले भने,`विश्वको अग्लो स्थानमा फल्ने जुम्ली मार्सी धानको उत्पादन,प्रवर्द्धन तथा सम्वर्द्धनमा स्थानीय सरकारबीच आपसी सहकार्य गर्ने विषयमा पनि कुराकानी भयाे । बैठकमा भएका निर्णयमा इमान्दारीका साथ लागि पर्ने विस्वास पनि व्यक्त गर्दछौँ।´


बैठकमा सहभागी सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बैठकले हिमा,सिञ्जा र कनकासुन्दरी गाउँपालिकाका साझा हित र सवालहरूमा आपसी सहमति,सहकार्य र एकताका साथ अघि बढ्ने निर्णय भएकाे जानकारी दिए ।

छलफललाई नियमित बनाउने र आगामी दिनमा यस्ता बैठक अन्य पालिकामा समेत आयाेजना गनर्ने निर्णय भएकाे अध्यक्ष धितालकाे भनाइ छ ।
सिञ्जा क्षेत्रका तीन स्थानीय तहकाे अन्तर पालिका समन्वयात्मक बैठकमा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाही,उपाध्यक्ष सुर्पना शाही, सिञ्जा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धिताल, उपाध्यक्ष शितली रोकाया, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्य,प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाही लगायत महत्वपुर्ण व्यक्तिहरुकाे सहभागीता रहेकाे थियाे ।