हाँकुचौरमा विपद् व्यवस्थापन कृत्रिम अभ्यास प्रदर्शनी

दर्पण सवाददाता जुम्ला ।

तातोपानी गाउँपालिका वडा न-४ हाँकुचौरमा विपद् व्यवस्थापन कृत्रिम अभ्यास प्रदर्शनी गरिएको छ। अहिले सुख्खा मौसममा आगलागी जस्ता विपद्का घटना बढी हुने भएकाले विपद् व्यवस्थापन सम्बन्धि सन्देशमुलक अभ्यास प्रदर्शनी गरिएको हो।

आगलागी जस्तो विपद् घटना कसरी हुन्छ, यसबाट कसरी बच्न सकिन्छ, समयमा कसरी व्यवस्थापन गर्ने र राहत उद्धार गर्ने विषयमा अभ्यास गरिएको थियो। फायर फाइटिङ, माइन जोखिम सचेतना, ग्यास सिलिण्डर फायर सेफ्टी, घाइते उद्धार, प्रथामिक उपचार र विपद् सामग्री प्रदर्शनी गरिएको थियो।

जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तातोपानी गाउँपालिका,र पेस नेपाल जुम्लाको समन्वयमा विपद् व्यवस्थापन अभ्यास प्रदर्शनी गरिएको हो। अहिले सुख्ख मौसममा बढी आगलागीका घटना हुने गर्दछन्। यस्ता विपद् बाट कसरी बच्ने र राहत उद्धारका विषयमा सचेतीकरण गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए।

विपद्का घटना हुदा कुनै पनि नागरिकले कसरी सुरक्षित हुने र तत्काल व्यवस्थापनका लागि कसलाई कहाँ खबर गर्ने भन्ने विषयमा अभ्यास प्रदर्शनीबाट स्थानीयलाई सचेतीकरण गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य बताए।

त्यस्तै आगलागी तथा विपद्को समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज, उद्धार, राहत, समन्वयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले कृतिम घटना अभ्यासको आयोजना गरिएको विपद् व्यवस्थापन समितिका संयोजक तथा जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए।

जुम्लामा नेपाली सेनाले समय समयमा विपद्सँग सम्बन्धीत विभिन्न (आगलागी, बाढी, पहिरो, भूकम्प) घटनाहरूको समय समयमा कृतिम घटना अभ्यास गर्दै आइरहेको छ।