जुम्ला : तातोपानी गाउँपालिकाले पालिका गान स्वीकृत भएको छ । गाउँपालिकाले यसअघि जारी गरेको सूचना अनुसार प्राप्त रचनामध्येबाट उत्कृष्ट रचनालाई पालिका गानका रुपमा छनोट गरेको हो । गाउँपालिकाले माघ १० गते पालिका गानका लागि रचना पेश गर्नको लागि सूचना जारी गरेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले पालिका गानको लागि १० वटा रचना प्राप्त भएको बताए । उनले ती मध्ये पालिका गानका लागि उपयुक्त उत्कृष्ट रचना छनोट गरिएको बताए । तातोपानी गाउँपालिका वडा नम्बर ५ निवासी लालप्रसाद चौलागाईको रचना पालिका गानका लागि छनोट भएको उनले बताए ।
अब उनको रचना पालिका गानका रुपमा गाउँपालिकामा बच्नेछ । उक्त निर्णय तातोपानी गाउँपालिकाको चैत २८ गते बसेको कार्यपालिका बैठकले गरेको थियो । रचना छनोटका लागि गाउँपालिकाले तीन सदस्सीय सिफारिस समिति गठन गरेको थियो ।
उक्त समितिमा प्रमुख प्रशासकीय अधिकृत कठायतसहित सूचना अधिकारी ओम प्रकाश चन्द र वडा नम्बर ७ का अध्यक्ष तिलक रावत थिए ।
पालिका गानका लागि चौलागाईसहित शिव शंकर चौलागाई, गोविन्द पाण्डे, पवित्रा उपाध्याय, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायत, हरिबाबु चौलागाई,लक्ष्मी चन्द्र न्यौपाने र शुभाकर विश्वकर्मासहितले रचना पेस गरेको गाउँपालिकाले जनाएको छ ।
यस्तै पालिकाका लोगो पनि छनोट भएको प्रमुख प्रशासकीय अधिकृत कठायतले बताए । उनका अनुसार तातोपानी गाउँपालिका वडा नम्बर ५ का किशोर उपाध्यायले बनाएको लोगो छनोट भएको छ ।
रचनाकार लालप्रसाद चौलागाई तातोपानी गाउँपालिका वडा नम्बर ६ स्थित भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । उनका फुटकर रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । आफ्नो रचना पालिका गानका रुपमा छनोट हुँदा उनले खुसी व्यक्त गरेका छन् । चौलागाईको रचनाको संगालो पुस्तका रुपमा आगामी असोजसम्म प्रकाशनमा आउँदैछ
जुम्ला दर्पण । ३ बैशाख २०८०, आईतवार १९:१२