छोराको टाँका काट्न नमानेको भन्दै कर्मचारीबाट कुटिए डाक्टर

जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान चौथो तहका कर्मचारी धनराज शाहीले छोराको टाँका काट्न नमानेको भन्दै डा. करण शाहलाई कुटेपिट गरेका छन् । बिहीबार विहान ९ बजेतिर आफ्नो छोराको टाँका काट्न भन्दै इमर्जेन्सीमा पुगेका कर्मचारी शाहीले इमर्जेन्सी विभागका डा. शाहलाई टाँका काटिदिन आग्रह गरेका थिए ।

बिरामी हेरिरहेका डाक्टरले ११ बजेपछि मात्रै टाँका काटिदिने भने पछि कर्मचारी शाहीले डाक्टरको कुरा चित्त नबुझेपछि कुटपिट गरेका हुन् । डा. शाहले तत्काल टाँका काट्न नसकिने बताइरहेका बेला कर्मचारी शाही आक्रमणमै उत्रिएर काममा खटिएका डाक्टरलाई उनले हात मात्रै हालेनन् लात्ती–लात्तीले कुटपिट गरेका छन् । डा. शाहलाई प्रतिष्ठानकै कर्मचारी शाहीले कुटपिट गरेका हुन्।

घटनापछि प्रतिष्ठानका डाक्टरहरूले आफू असुरक्षित भएको भनी पीडकलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । कुटपिट बाट उनको टाउको र पेटमा गम्भीर चोट लागेको छ।’ डाक्टर कुट्ने शाहीलाई जुम्ला प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो घटनालाई प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई आफैले चासो लिएकी छन् । घटनापछि डा. शाहले आक्रमणकारीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको नेपाल चिकित्सक संघ जुम्ला शाखाका उपाध्यक्ष डा कमल थानीले बताए ।