तिला गा.पा वडा नं. ६ बालविवाह मुक्त घाेषणा ।

डिल्ली अन्जान जुम्ला ।

जुम्लाको तिला गाउँपालिका वडा नंं. ६ स्थित दुर्गमका तीन वटा गाउँलाई बालविवाह मुक्त घोषणा गरिएको छ । तिला ६ मा पर्ने घोडेमहादेव, रिपी र सुडिगाउँलाई २०८० बैशाख २६ गते जुम्लाको दोस्रो वडाका रुपमा बालविवाह मुक्त घोषणा गरिएको हो ।

गरिबी, देखासिकी, प्रविधिको दुरुप योगले बढ्दो बालविवाह पछिल्लो समय सरकारी तथा गैरसरकारी निकायको साँझा अभियानले शून्यमा पुगेपछि तिला गाउँपालिका वडा नंं ६ लाई जिल्लाकै दोस्रो वडाका रुपमा बालविवाह मुक्त घोषणा गरिएकाे हाे ।

तिला ६ मा पर्ने घोडेमहादेव गाउँमा ६८, रिपी गाउँमा ३५ घरधुरी र सुडी गाउँमा ११० घरधुरी जम्मा २ सय १३ घरधुरीका २० वर्ष मुनिका कुनै पनि बालविवाहले बालविवाह नगरेको, पटक पटक अनुगमन गरेको लगायतका विभिन्न कार्यक्रम पश्चात् बालविवाह मुक्त घोषण गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए ।

घोषणासँगै कार्यान्वयनमा चुनौती रहेकोले पालिकालाई नै बालविवाह मुक्त बनाउने अभियानका साथ पालिकाभर कार्यक्रम सञ्चालन गरिने अध्यक्ष रोकायाको भनाई छ । तिलाकी उपाध्यक्ष गोरीकला बुढाले चेतनाको अभाव, गरिबीले बढ्दो बालविवाह रोक्न उद्यमशीलताका कार्यक्रममा जोड दिनुपर्ने बताइन।

उहाँका अनुसार आगामी नीति तथा कार्यक्रममा उत्पादन वृद्धि, सामाजिक रूपान्तरण तथा युवा उद्यमशीलताका क्षेत्रमा लगानी बढाई कुरीति अन्त्यको अभियान चलाइने छ । भौगोलिक रुपमा विकट घोडे,रिपी र सुडिका नागरिकले बालविवाह अपराध मात्र हैन शिक्षा, स्वास्थ्य रोजगारका अवसरबाट वञ्चित हुने बाधक हो भन्ने बुझी सकेका छन् ।

जसका कारण बालविवाह मुक्त वडा घोषणा गर्न सफल भएको तिला ६ का वडाध्यक्ष जङ्ग बहादुर रोकायाले बताए। उनका अनुसार आगामी दिनमा बालविवाह गर्नेलाई कानुनी कारबाही गर्नुका साथै पालिकाबाट दिइने सबै सार्वजनिक सेवाबाट समेत बञ्चित गराइने छ ।

किर्डाक नेपाल र गाउँपालिकाले वडा नं. ६ का गाउँगाउँमा पुगेर बालविवाहले मानव स्वास्थ्यमा पार्ने असर, ढिलो बिहे गर्दा हुने फाइदा र कानुनी दण्ड सजायबारे अन्तरक्रिया, छलफल, घरधुरी सर्वेक्षण लगायतका ५१ सूचक पुरा गरेपछि बालविवाह मुक्त घोषणा भएको हो ।

तिला गाउँपालिकाका स्थानीय नागरिक जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल लगायतका सरोकारवालाले बालविवाह नगर्ने र गर्न पनि पनि नदिने भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेकाे तिला ६ का युवा हरिकूष्णा रावतले बताए ।