कला घर जुम्लाले खोल्यो मालिका आविमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय

जुम्ला । जिल्लाको चन्दननाथ १ स्थित मालिका आधारभुत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय भएको छ । कला घर जुम्लाको सहजीकरणमा विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो । सोमबार एक कार्यक्रमका बीच पुस्तकालयको औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।

चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले पुस्तकालयले शिक्षाको ज्योति बाल्न मद्दत गर्ने बताए । स्थानीयस्तरमा यस्तो पुस्तकालय स्थापना हुनु ज्ञान, सीप र अध्ययन संस्कृतिको विकासका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ ।
उक्त अवसरमा बोल्दै चन्ददनाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खडकाले युवाहरूको सक्रियतामा पुस्तकालय स्थापना भएको भन्दै खुसी प्रकट गरिन् । युवाहरुले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै पुस्तकालयलाई दीर्घकालसम्म टिकाइ राख्न सहयोग गर्ने आश्वासन दिइन्।

पुस्तकालय उद्घाटन कार्यक्रममा चन्दननाथ नगरपालिका जुम्लाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले ज्ञान हासिल गर्न पुस्तकालय अपरिहार्य भएको बताए । उनका अनुसार पुस्तकालयले विद्यार्थीमा पढ्ने बानी विकास गर्नेछ ।
सो अवसरमा चन्दननाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलकप्रसाद न्यौपानेले पुस्तकालयलाई अझ राम्रो बनाउन आवश्यक रहेको बताए । उनले विद्यालयमा आउने कुनै पनि कार्यबोझ हटाउन तयार रहेको बताएका थिए ।

स्कूलका प्रधानाध्यापक हेमन्तबहादुर महतले विद्यालयमा पुस्तकालय स्थापना विद्यालयको लागि कोशेढुंगा सावित भएको बताए । पुस्तकालय ज्ञानको भण्डार रहेको भन्दै यसले पठन संस्कृतिको विकास गर्न भूमिका खेल्ने उनले बताए ।