रेशम अनुराग
जुम्लाको तातोपानी गाउँपालिकाको रातेखोलाको औद्योगिक ग्रामको डीपीआर हुने भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ४ स्थित रातेखोलाको औद्योगिक ग्रामको डीपीआर हुने भएको छ ।
स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारणका लागि औद्योगिक ग्रामको भूमिका महत्वपूर्ण हुने भएकाले छिटै डीपीआर गर्न लागिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । सरकारले औद्योगिक ग्राम स्थापना गरी युवाहरुलाई रोजगारी
तथा आत्मनिर्भर बनाउने योजना अनुसार मुलुकभरका आठ वटा स्थानीय तहमध्ये जुम्लाको तातोपानी गाउँपालिका ४ छनोटमा परेको थियो ।
सो औद्योगिक ग्रामको डीपीआर गर्ने तयारी गरेको अध्यक्ष चौलागाईंले जानकारी दिए । सोमबार तातोपानी गाउँपालिकाले आयोजना गरेको औद्योगिक ग्रामको सुझाव संकलन कार्यक्रममा बोल्दै अध्यक्ष चौलागार्इंले भौतिक पूर्वाधार व्यवस्था, विद्युत, यातायत, पानी, सञ्चार, फोहोर मैला तथा ढल व्यवस्थापन पालिकाले गर्ने बताए । त्यस्तै स्थानीय स्तरको कच्र्चा प्रदार्थ, स्रोत साधनको प्रयोग हुने र स्थानीयवासीले रोजगारी पाउने उद्देश्यले फलफुल प्रशोधन उद्योग, पानी प्रशोधन उद्योग, काष्ठकला उद्योग, जडिबुटी प्रशोधन उद्योग, वेमौषमी तरकारी खेती लगायतको उद्योगहरु सञ्चालनहरुको डीपीआर तयार गरेर औद्योगिक ग्रामका मापदण्डमा टेकेर काम अगाडि बढाइने उनले बताए । त्यस्तै आवश्यक निश्चित मापदण्ड तय गरेर नेपाल सरकार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९ भदौ १० गते औद्योगिक ग्राम स्थापनाको लागि सार्वजनिक सूचना जारी गरेको थियो ।
मन्त्रालयको सूचनाको आधारमा चाहिने सबै प्रक्रिया पूरा गरी गाउँ कार्यपालिकाको निर्णयबाट वडा नंं. ४ लाई छनौट गरी पालिकाले औद्योगिक ग्राम स्थापनाका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको आधारमा औद्योगिक ग्राम स्थापना भएको तातोपानी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अमर रोकायाले बताए ।
सो वडाको रातेखोलामा रहेको करिब १५ हजार ८८२ वर्गमिटर क्षेत्रफलमा रहेको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल सरकारकोे मन्त्री परिषद्को गत फागुन ४ को निर्णयबाट स्वीकृत भइ पारित भएको वडाध्यक्ष रोकायाले जानकारी दिए । स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी यहाँका स्थानीयवासीको रोजगारी सिर्जनामा टेवा पुग्ने वडाध्यक्ष रोकायाले बताए ।
जुम्ला दर्पण । २३ जेष्ठ २०८०, मंगलवार १६:२७