भ्रष्टाचार, वेथितिविरूद्व जुम्लाका ६० वटै वडामा खबरदारी सभा सम्पन्न

जुम्ला : नेकपा (माओवादी केन्द्र) जुम्लाले जिल्लाका सबै वडामा एकसाथ खबरदारी सभा सम्पन्न गरेकाे छ । केन्द्रले जिल्लाका ६० वटा वडामा एकैसाथ खबरदारी सभा सफलतापूर्वक सम्पन्न गरेकाे हाे ।

नेकपा (माओवादी केन्द्र) जुम्लाका इन्चार्ज नरेश भण्डारीका अनुसार भ्रष्टाचार,पक्षपात र वेथितिविरूद्व जुम्ला जिल्लाका ६० वटै वडामा एकैसाथ ऐेतिहासिक रूपमा खबरदारी सभा सम्पन्न गरिएकाे हाे ।

जिल्लाभर नेता तथा कार्यकर्ताहरूकाे प्रत्यक्ष रूपमा सहभागी गराएर वडास्तरमा सभा सम्पन्न भएकाे उनले बताए ।

`जनतालाई सुनाउने र बुझाउनुपर्ने थुप्रै राष्ट्रिय र स्थानीय विषय थिए । हामीले जनतालाई स्पष्ट पारेका छाै । आम वेथितिविरूद्व एकुजट हुनुकाे विकल्प छैन,´उनले भने ।
भ्रष्टाचार,वेथिति, विसंगति न्यूनिकरणमा सरकार लाचार भएको भन्दै माओवादी केन्द्रले स्थानीयस्तरमा खबरदारी सभा गरेकाे हाे ।

 

सरकारका गलत कामकाे खबरदारी गर्ने,पार्टीका राम्रो कामकाे प्रचार प्रसार गर्ने उद्देश्यले खबरदारी सभा आयाेजना गरिएकाे सह-इन्चार्ज गाेमा गाैतम कुँवरले बताइन् ।

उनका अनुसार जिल्लामा सक्रिय रूपमा नेता कार्यकर्ताहरूलाई वर्तमान समसामयिक विषयमा खबरदारी गर्न अपील गरिएकाे छ ।

खबरदारी सभापछि जुम्ला दर्पणसँग कुराकानी गदर्दै उनलेे भनिन्,`याे सभा पार्टी र जनता जाेड्ने अवसर हाे । हामीले हाम्रा कामहरूकाे प्रचार गर्याै । सम्पूर्ण विषयमा खबरदारी गर्न आह्वान गरेका छाै।´

खबरदारी सभाको लागि हरेक वडामा दुईजनाका दरले जिल्लाभर १२० जना नेतालाई वक्ताका रूपमा खटाएकाे थियाे । हरेक वडामा मुख्य र सहायक वक्ताका रूपमा पार्टीका केन्द्रीय सदस्यदेखि वडा स्तरका नेता खटिएका थिए ।