अध्येता चाैलागाईकाे `साइतर´ संग्रहित पुस्तक विमोचन

जुम्ला:  अध्येता तथा अन्बेषक खडानन्द चौलागाईद्वारा लिखित कर्णालीका गाउँखाने कथा संग्रह ( साइतर) पुस्तक विमोचन भएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्री मधुसुदन गिरीको प्रमुख आतिथ्यतामा पुस्तक विमाेचन गरिएकाे हाे ।  उक्त पुस्तक विमोचन कार्यक्रमको सभापतित्व आयुषराज मल्टिमिडियाका पदाधिकारी भरतबहादुर मल्लले गरेका थिए ।

 

प्राज्ञ मधुसुदन गिरी, चन्दननाथ नगरपालिका जुम्लाका नगर प्रमुख राजुसिंह कठायत, आलु विज्ञ डा भिम के सी, चन्दननाथ नगरपालिका उप प्रमुख रामदेवी खड्का र नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको हातबाट संयुक्त रुपमा विमोचन गरिएको थियो । विमोचित पुस्तकका तीन खण्ड छन् । पहिलो खण्डमा गाउँखाने कथाको परिचय, पृष्ठभूमि, वर्गीकरण, प्रयोगको बारेमा उल्लेख गरिएको छ ।  दोस्रो खण्डमा वर्णानुक्रमको आधारमा १००४ वटा गाउँखाने कथाहरु समावेश गरिएको छ । तेस्रो खण्डमा  १५० वटा मनन्योग्य कुराहरु समेटिएका छन् ।

पुस्तकको बारेमा टिप्पणी गर्दै अधिवक्त दिलबहादुर महतले कर्णालीको लोकजीवन बचाउनको लागि कर्णालीको साहित्यिक फाँटलाई मजबुत बनाउने धारणा राखे । ती कुरा पुस्तकमा  अध्येता खडानन्द चौलागाईले पूरा गर्नु भएको बताएका थिए ।चन्नदनाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले कर्णालीको लोकजीवनमा साहित्यिक फाँटले अग्रणी भूमिका खेलेको बताए ।

यसमा विभिन्न तह र तप्काका व्याक्तित्वहरुको अतुलनीय भूमिका छ ती मध्ये कर्णालीको साहित्यिक बगैचालाई मलजल गर्न खडानन्द चौलागाईले अबिराम कलम चलाइरहेका छन् ।  त्यो कर्णालीको लागि गौरवको कुरा हो । कार्यक्रममा अध्येता तथा अन्वेषक खडानन्द चौलागाईले नेपाली भाषाको जन्मकुण्डलिका रुपमा रहेको खस भाषालाई आज राज्यले जसरी उपेक्षा गरेको बताए ।

त्यसैगरी कर्णालीको लोकजीवनका साहित्यिक गाथालाई मलजल गर्न सकेनौँ भने भाषामा उपेक्षा गरेजस्तै कर्णालीको साहित्यिक बिरासतमा पनि कुठाराघात हुने पक्का छ भन्दै ठोकुवा गरे । गाउँखाने कथा कर्णालीमा मनोरञ्जन र बौद्रिक कुशलतामा सलबल्याएको सामाजिक सांस्कृतिक प्रतिबिम्ब हो यसलाई उजागर गरी आम नेपालीहरुका सामू पस्किनु पर्दछ । यही उदेश्य पूरा गर्नको लागि मैले यो प्रयास गरेको हु । यसमा सबै प्रतिबद्दता र हातेमालोको जरुरी देखिएको छ ।

यसैगरी प्रमुख अतिथि प्राज्ञ मधुसुधन गिरीले कर्णालीको लोकजीवनमा गुन्जिरहेको साहित्यिक गाथालाई बङग्याउँदै केही साहित्यकारहरुले आफू अनुकूलको लाभको सुविधा ग्रहण गरिरहेका छन् त्यो कर्णालीको लोक जीवनले कदापी स्वीकार गर्ने छैन । अहिले जसरी कर्णालीको नाम बेचेर आफूलाई फाइदा हुने काम गरेका छन् त्यो कालन्तरमा बिष भएर निस्कन सक्छ । समयमै सबैले सचेत भएर साहित्यमा कलम चलाउन आग्रह गरे ।  खडानन्द चौलागाईको यो प्रयासले आउदा दिनहरुमा अझै परिस्कृत भइ समग्र कर्णालीको लोकजीवनमा सहयोग पुग्नेछ भन्दै यस कृतिको सफलताको लागि शुभकामना दिए ।

यसैगरी वीचबीचमा देउडा भाकामा गीतहरु गुन्जीरहेका थिए भने कार्यक्रमको समापन गर्दै सभापतित्व गरिरहनु भएका आयुषमेडिया प्रालिका भरतबहादुर मल्लले कर्णालीको साहित्यलाई उच्च कोटिको बनाउन राज्यले कर्णालीप्रति गर्ने गरेको व्यवहारमा परिवर्तन ल्याइ सबैको एक्केबद्दताको खाँचो रहेको बताउदै कार्यक्रमको समापन गर्नु भएको थियो ।