नेपालमा चरा : प्रजाति बढे, संख्या घट्दो क्रममा

 काठमाडौँ :नेपालमा पाइने चराको प्रजाति बढ्दै गएको पन्छी संरक्षण सङ्घले जनाएको छ ।

सन् २०१८ को तथ्याङ्क अनुसार नेपालमा ८ सय ८६ प्रजातिका चरा पाइन्थ्यो । ४ वर्षमा नेपालमा ६ वटा नयाँ चराको प्रजाती थपिँदा ८ सय ९२ पुगेको छ । तर ती चराहरूको सङ्ख्या भने घट्दै गएको पन्छीविद्हरू बताउँछन् ।

त्यस्तै लोप हुने अवस्थामा पुगेको चराको प्रजाति सङ्ख्या पनि बढ्दै गएको छ । २४ वर्षअघि नेपालमा पाइने १ सय २९ प्रजातिको चरा खतराको सूचीमा रहेको थियो ।

 

हाल १ सय ७२ प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको नेपाल पन्छी संरक्षण सङ्घले जनाएको छ । करिव सय वर्ष यता नेपालमा पाइने ठुलो वन बकुला, गुलाफि टाउके हाँस, तराई बाँदर चरि, हरियो कोचवा, खैरो मुसे फिस्टोलगाएत ७ किसीमका चरा हाल देखिँदैन । शिकारी चराको नाममा चिनिने गिद्ध, चिल, गरुड लगायत खतराको सूचीमा छन् ।

नेपालमा पाइने चराको संरक्षण गर्न यिनीहरूको वासस्थान सुरक्षित राख्न समुदायसँग सहकार्य गर्नुपर्ने, कृषि खेतीमा हुने रासायनिक मलको प्रयोग न्यूनीकरण गर्नुपर्ने पन्छीविद् बताउँछन् ।

गाउँघरमा आइरहने भँगेरा, कोटेरा, गौँथली, लामपुछ्रे, सारौ जस्ता चरा पनि घट्दै गएपछि नेपाल पन्छी संरक्षण सङ्घले छिमेकी चरानामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत जोकोहीले आफ्नो घर वरपर रहेका चराको सूचना सङ्घलाई दिन सक्छन् ।