जुम्लाको तातोपानी गाउँपालिकाले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा मनायो

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । गाउँपालिकाको केन्द्र लिताकोटमा भव्य साँस्कृति कार्यक्रमको आयोजना गरेर कार्यक्रममका पूर्वराज्य मन्त्री तथा नेकपा माओबादी केन्द्र जुम्लाका सह–ईन्चार्ज गोमा कुँवरको प्रमुख आतिथ्यतामा मनाइएको हो । पालिकाका वडा नं. १ देखि ६ सम्मका महिलाको बृहत्त सहभागिता थियो ।

“सबै महिला तथा बालिकाको लागि अधिकार समानता र सशक्तीकरण” भन्ने नारासहित मनाइएको दिवसमा महिलाले देउडा,हुड्के नाँच तथा एकल गायन मार्फत महिला अधिकार,महिलाका पिडा तथा शक्तिकरणका सवालहरु उठान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वराज्य मन्त्री गोमा कुँवरले महिला अब घरधन्दा चुलो चौकोमा मात्र सिमित नभई विकास निर्माण देखि नेतृत्व भूमिकामा अग्रसर हुनु पर्ने बताईन् । राजनीतिक नेतृत्वमा महिला सधै सहायक पदमा मात्रै सिमित भएकोले अब महिला नेतृत्व लिन पनि सक्षम हुनु पर्ने बताईन् ।

१९ दिने जनआन्दोलन,१० वर्षे जनयुद्ध र संघियताले महिलाका अधिकारलाई पेचिलो बनाएपनि पुरुषबादी चिन्ततले कार्यान्वयन पक्ष कमजोर रहेको उनको भनाई छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले महिला पुरुष बीच विभेदलाई हटाउन सामाजिक चेतना विस्तारमा जोड दिनुपर्ने बताए । विकास निर्माणदेखी राजनीतिक तथा प्रशासनिक नेतृत्वमा महिलाको अग्रसरता निकै प्रेरणादायी रहेको उल्लेख गरे ।

कार्यक्रमका सभाध्यक्ष तथा तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले दिवसले मात्रै महिलाका अधिकार स्थापित गर्न नसक्ने भन्दै हरेक अबसर चुनौतीको सामना गर्दै महिला शक्तिकरण एजेण्डालाई प्रथामिकता दिनु पर्ने बताईन् । दिवसमा बृहत्त सहभागिता जनाउने महिलाहरुलाई धन्यबाद दिदै सबै वडाका देउडा टिमलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार समेत दिएको उनको भनाई छ ।

तातोपानी गाउँपालिकासंगै जुम्लाका अन्य सात पालिकामा पनि विभन्न कार्यक्रम गरी अन्तराष्ट्यि नारी दिवस मनाइएको छ । चन्दननाथ नगरपालिकाले प्रभातफेरी कार्यक्रम गरी टुडिखेलमा भव्य रुपमा दिवस मनाएको छ । जुम्लाका आठै पालिकामा महिलाहरुको सहभागितामा जनचेतना मुलक, सांस्कृतिक कार्यक्रम गरी दिवस मनाइएको पाइएको छ ।