हुम्ला – दुरसञ्चार, विकास र पूर्वाधारका हिसाबले पछाडि पारिएको हिमाली जिल्ला हुम्ला अब राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। हुम्ला जिल्लाको खार्पु खोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएपछि नेपालका सबै ७७ जिल्ला अब सडक सञ्जालमा समावेश भएका छन्।
यस ऐतिहासिक अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा खार्पु पुलको उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले उद्घाटन समारोहमा बोल्दै भने, “यो पुल नेपालको समावेशी विकास यात्रामा एक महत्वपूर्ण उपलब्धि हो। अब हुम्ला पनि अन्य जिल्लाजस्तै सडक सञ्जालमा जोडिएको छ, यसले यहाँको जनजीवनमा नयाँ युगको सुरुवात गर्नेछ।”
सडक सञ्जालको पहुँचका कारण हुम्लाको यातायात, व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ। यसअघि हुम्ला जिल्लामा सडक नपुगेकाले हवाई मार्ग वा खच्चडमार्गमै निर्भर रहनुपर्ने अवस्था थियो।
खार्पु पुलसँगै जोडिएको ट्र्याक सुर्खेत हुँदै सिमीकोटसम्म पुग्ने गरी विस्तार गरिएको हो। पुलको निर्माण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले सम्पन्न गरेको हो।
स्थानीयवासी र जनप्रतिनिधिहरूले यस घटनालाई “इतिहासकै सबैभन्दा सुखद मोड” भन्दै स्वागत गरेका छन्। उनीहरूको विश्वास छ कि अब हुम्लाको आर्थिक, सामाजिक र विकास निर्माणले तीव्र गति लिनेछ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा हुम्लालाई सडक सञ्जालमा ल्याउने दीर्घकालीन योजना सफलतामा परिणत भएको यो क्षण नेपालकै सडक इतिहासमा एक महत्वपूर्ण अध्यायको रूपमा स्थापित भएको छ।

डिल्ली कामी । २३ असार २०८२, सोमबार ०६:४८