तातोपानी गाउँपालिकामा वडामै योजना सम्झौता गर्न सुरु

पहिलो चौमासिक सम्झौता सम्पन्न गर्ने र दोस्रो चौमासिकबाट योजना कार्यान्वयन सुरु हुने

जुम्ला : जिल्लाको तातोपानी गाउँपालिकाले बस्ती स्तरमै पुगेर योजना सम्झौता सुरु गरेको छ । आठ वटा वडा रहेको तातोपानी गाउँपालिकाले जिल्ला मै पहिलोपटक बस्तीस्तरमा गएर योजना सम्झौता गर्न सुरु गरेको हो ।

तातोपानीले चालु आवको बैशाख मसान्तमै सम्पूर्ण योजना सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ । सोही योजना अनुसार असोज महिना मै बस्ती स्तरमा पुगेर योजना सम्झौता गर्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।


वडा नम्बर २ बाट योजना सम्झौता सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले बताए । अभियानको पहिलोदिन वडा नम्बर २ मा सात वटा योजना सम्झौता गरिएको छ ।

यस्तै विहीबार वडा नम्बर ३ मा ६ वटा योजना सम्पन्न गरिएको छ । वडा नम्बर ३ मा पालिका प्रदेश र संघीय कार्यक्रम गरी कुल सात वटा योजना रहेका छन् ।

वडा नम्बर २ मा कर्णाली राजमार्ग देखी तातोपानी धारा सम्म रेलिङ र नाली निर्माण,मुनबाडा देखि ताबाडा सम्म जाने आरसिसि गोरेटो बाटोको योजनाको सम्झौता सम्पन्न भएको छ । यस्तै,कर्णाली राजमार्गदेखि चिहानघाट सम्म गोरेटो बाटो पिसिसि निर्माण, डाँगीवाडा गाउँ गोरेटो बाटो पिसीसी निर्माण,थाप्लादेखि खाँजर्मी सिँचाइ कुलो निर्माण गोप्थाडा रहेको छ ।

सुन्दरगाउँ गोरेटो बाटो तटबन्धन निर्माण,कर्णाली राजमार्गदेखि हिमशिखर उच्च माध्यामिक विद्यालयसम्म आरसीसी सडक निर्माण रहेका छन् । वडा नम्बर ३ मा कालिका थान निर्माण, थाप्लादेखि खाँजर्मी सिँचाइ कुलो निर्माण, बुदबुदी मन्दिर निर्माण, राजमार्गदेखि लाछु गाउँसम्म रेलिङ निर्माण, सामुहिक स्याउ बगैंचा व्यवस्थापन र ताहा ज्युलादेखि कर्णाली राजमार्गसम्म पिसीसी बाटो निर्माण( मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ) रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँका अनुसार सम्पूर्ण वडामा पहिलो चौमासिकमा योजना सम्झौता सकाउने उद्देश्य राखिएको छ । सोही अनुसार कर्मचारीहरुलाई वडाहरुमा खटाइएको उनको भनाइ छ । पालिकाकै विशेष क्षेत्र वडा नम्बर ७ र ८ मा प्राविधिक टोली योजना सम्झौताका लागि गएको र विवरण आउन बाँकी रहेको उनले बताए । वडामै पुगेर सम्झौता गर्दा उपभोक्ता समितिका पदाधिकारीहरु पालिका धाउने झन्झटबाट मुक्त हुनुका साथै राहत राहत समेत मिलेको छ ।