गुठीचाैरमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

वृद्धवृद्धा भत्ता लिन बैंक जानुपर्ने बाध्यता हट्यो

रामप्रकाश विक,जुम्ला
सरकारले २०७३ सालबाटै सामाजिक सुुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीबाट सुरु गरेको थियो। तर, भत्ता बैंकमार्फत वितरण गर्ने प्रणाली पारदर्शी भए पनि सेवाग्राहीका लागि कष्टकर बनेको छ । जनप्रतिनिधि र वडाका कर्मचारीमार्फत घरमा बसेर भत्ता बुझ्दै आएका गुठीचौरका लक्षित वर्गका लाभग्राहीलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकसम्म पुग्न, बैंकिङ प्रणालीका कागजी प्रक्रिया मिलाउन र भत्ता बुझ्न सास्ती भइरहेका बेला पालिका सरकारले भने वडा–वडामा पुुगेर भत्ता वितरण गरेको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि अनिवार्य आफैँ बैंक पुग्नुपर्ने र बैंकमा कागजी प्रक्रिया पनि आफैँले मिलाउनुपर्ने भए पनि जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नुु परेपछि जिल्लाको गुठिचौर गाउँपालिकाले वडामै पुुगेर भत्ता दिएको छ। वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता बुझ्न नै महाभारत हुँदै आएको अवस्थामा स्थानीय सरकारले वडामै पुगेर भत्ता दिनको छ। गाउँ घरबाटै भत्ता पाउन थालेपछि जेष्ठ नागरिक उत्साहित भएका छन्।

गुठीचौर गाउँपालिका–२ का सिगमान बाेहोरा ७९ वर्षका भए । उनलाई सामाजिक सुरक्षा भत्ता बुझ्नै महाभारत हुने गरहेको थियो । बाेहाेरा भन्छन्, ‘निर्वाचनका बेला भोट माग्न आउँदा बृद्धभत्ता वडाबाट दिन्छौं भन्थे, त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेको प्रतिवद्धता अनुसार नै काम सुरु गरेकोमा निकै खुसी लागेको छ ।´

घरबाट गाउँपालिकाको कार्यालय धवमुडि पुग्नै १ दिन लाग्थ्याे उनलाई । वृद्धभत्ता बुझ्न गाउँपालिकाको झारज्वाला लक्ष्मि सनराईज बैंकमा पुग्नुपर्ने बाध्यताले सेवा भन्दा बढी सास्ती हुने गरेको बाेहोराले सुनाए । तर अहिले यो समस्याबाट उनी जस्तै सयौँ लक्षित व्यक्तिले छुटकारा पाएका छन्। गाउँपालिका र वैकले वडाबाटै भत्ता बाँड्न थालेपछि नागरिकलाई सास्ती कम भएको बाहोराले बताए । ‘बुढेसकालमा धेरै सहज भयो, दुई खुड्किलो टेक्दा वडामा पुगिन्छ, त्यहीँबाट भत्ता पाउन थालेको छु । ‘टाढा हुँदा न बैंकबारे केहि बुझिन्थ्यो न भत्ता लिन जान सजिलो थियो, सबै सास्ती कम भएको छ,´ उनले भने

गुठीचौर -१ मनिसाँगुकी असारी रोकाय अपाङ्गता भएकी व्यक्ति हुन् । उनको शारीरिक दुर्बलताले पाउने सामाजिक सुरक्षा भत्ता लिनै सधैं कष्ट हुने गरेको थियो । वरपरका छिमेकीको सहयोगमा गाडीमा वा बोकेरै उनलाई लैजानु पर्ने हुथ्यो। तर वडाबाटै भत्ता वितरण सुरु भएपछि अहिले राहत मिलेको उनले बताइन्। अहिले वडाबाटै बाँड्न थालेपछि गाउँपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता कम भएको रोकायाले बताइन् ।
गाउँपालिकाले आफ्ना नागरिकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नागरिकको सेवालाई सहज बनाउने उद्देश्यले वडाबाट भत्ता वितरण गरिएको हो। भौगोलिक विकटताका कारण बैंकिङ सेवा र गाउँपालिका केन्द्रसम्म कष्टकर यात्रा गरी धाउनुपर्ने सास्तीलाई कम गर्न स्थानीयस्तरबाटै भत्ता वितरण गर्न थालिएको गाँउपालिका अध्यक्ष दान वहादुर वुढाले बताए ।

गाउँपालिका पञ्जिकरण सेवा ईकाईको आयोजना तथा लक्ष्मी सनराईज बैंकको समन्वयमा पालिकाले वडामा पुगेर समुदायस्तरा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। यातायातको पहुँच कम भएका वडाहरु १ र २ वडामा पुगेर भत्ता वितरण गरिएको वुढाको भनाई छ ।

यस्तै गाउँपालिकाले चालु आवको पहिलो त्रैमासिकदेखि नै वडामै पुगेर सामाजिक सुरक्षा वितरण थालेको हो । बैंकमा घण्टौं लाइन बसेर टाढाबाट भत्ता लिन जान कठिन परेको बेला वडाबाटै भत्ता बुझेपछि वृद्धवृद्धाहरू उत्साहित देखिएका थिए।

गुठीचाैर- १ का सम्पुर्ण महताराले वडाबाटै भत्ता बुझ्न पाएपछि निकै उत्साहित भएकाे बताए । उनले वडाबाट भत्ता बुझ्न पाउँदा स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताए । ‘भत्ता बुझ्नका लागि १ दिन हिंडेर बैंक जानुपथ्यो, घर आउन १ दिन हिडनु पथ्यो।

उनले बुढेसकालमा आउन जानै समस्या’ सुनाउदै भने, ‘अहिले त गाउँपालिका र जनप्रतिनिधिले जेष्ठ नागरिकको मनको कुरा बुझेर होला वडाबाटै भत्ता बुझ्ने व्यवस्था गरेको वडा १का वृद्ध महताराले बताएका छन् । गाउँपालिकाको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण चैत मसान्तसम्म गरिने गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख धन प्रसाद न्यौपानेले बताए । उनले चैत मसान्तबाट ईएफटि सिस्टमबाट वितरण गरिने बताए ।

इएफटी सिस्टम लागू भएपछि गाँउपालिका यसरि आउनु नपर्ने आफ्नो खातामा जाने भएकोले नेपालको जुनसुकै ठाउँबाट पैसा जिक्न मिल्ने उनकाे भनाई छ ।
लाभग्राहीबाट गुनासो आएपछि कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा भत्ता वितरण गर्न थालिएको गुठीचौर- २ का वडा अध्यक्ष दिप वहदुर ऐडीले बताएका छन् ।

बैंकहरूले सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको सहजताका लागि छुट्टै व्यवस्था नगरेका कारण पालिकाका नागरिकको सास्ती कम गर्नका लागी बैंकसँग समन्वय गरेको वडा अध्यक्ष ऐडीले बताए ।