जुम्लामा मंसिर ३० गते `कर्णाली कविता कन्सर्ट´हुने

जुम्ला : जुम्लामा मंसिर ३० गते `कर्णाली कविता कन्सर्ट´ हुने भएकाे छ । कला घर जुम्लाको आयोजनामा मंसिर ३० गते  `कर्णाली कविता कन्सर्ट´ हुन लागेको हो। जुम्लामा चिसो मौसमलाई कविता र संगीतले तातो बनाउने तयारी भएको छ।
कला घरका बिक्रम तिरूवाका अनुसार जुम्लामा पहिलाेपटक कविता कन्सर्ट हुन लागेकाे हाे । जिल्लामा रहेका उत्कृष्ट १० कविका कविताहरु उक्त कार्यक्रममा वाचन हुने उनले बताए ।

`जिल्लाको भाषा साहित्य संस्कृति कलाको संरक्षण गर्न र साहित्यकारहरुको पहिचान गर्न आयोजना गरिन लागेको छ।´, उनले भने ।

कार्यक्रमको मञ्च जुम्लामा उत्पादन भएका सामाग्रीबाट सजावट गरिने छ भने विभिन्न सांगीतिक प्रदर्शन पनि हुने उनकाे भनाइ छ ।

कन्सर्टले जुम्लाको चिसो रातलाई सांस्कृतिक न्यानोपनले भरिदिने विश्वास गरिएको छ। अहिले कार्यक्रमकाे तयारी भइरहेकाे छ।