गुठीचाैरमा बिषालु घाँस खाँदा २३ वटा भेडा मरे

रामप्रकाश विक,जुम्ला 

जुम्लाको गुठीचौर क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । भेडाले घाँस नखाने, च्यापुबाट सेतो दूध जस्तो फिज निकाल्ने, ढारिनेलगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान पदम रावलले बताए ।
गुठीचौर गाउँपालिका ५ गर्ज्याङ्गकोटमा बिषालु घाँस खाएर किसानका २३ वटा भेडा मरेका छन्। स्थानीय पदम रावलका भेडा जंगलमा चराउन लगिएका बेला जंगलमा पाइने बिषालु घाँस खाएर मरेका हुन्।

शनिबार गुठीचौर गाउँपालिका ३ को झिमारेमा रहेको जग्गाको नजिकैको वनमा चरीरहेका भेडाले बिषालु घाँस खाएलगत्तै धमाधम मरेका हुन् ।

वनमा ७० वटा भेडा चराउन लगिएकामा २३ वटा भेडा मरेका छन्, भने अझै ८/९ वटा बिरामी रहेको उनले बताए । घाँस खाएको थाहा पाएपछि अन्य भेडालाई भने घरेलु औषधि खुवाइ उपचार गरेपनि सुधार भएको छैन। भेडा पालक किसान रावलको ४ लाख बराबरको क्षति भएको छ।

भेडा मर्न थालेपछि पशु सेवा शाखाका पशु चिकित्सकसँग फोनबाट सल्लाह लिएको उनकाे भनाइ छ । भेडा गर्ज्याङ्गकोटको झिमारे, कालिमाटी, थाग्ना, खरेनी लगाएतको ठाउँमा चराउदै आएको र अहिलेसम्म यति ठुलो क्षेती नभएको उनले बताए ।