`लाल सर´काे हृदयविधारक विधाई !

शुभाकर विश्वकर्मा,जुम्ला

प्रिय मान्छेलाई स्वागत गर्दाकाे खुसी र उमंग । अनि विदाई गर्दाकाे दुःखद् क्षण । यी दुवै मानवीय संवेदनाका पाटा हुन् । तर कुनै स्वागत र विदाईका क्षणहरू अविस्मरणीय भइदिन्छन् । जुुन कुरा पूर्व निर्धारित हुदैनन् । अकस्मात सिर्जित हुन्छन् ।

            कुनै विदाई समाराेहहरू भाैतिक रूपमा उपस्थित नहुँदापनि रूवाउँदा रहेछन् । आज यस्तै भयाे,फेसबुक चलाउँदै थिए,नाेटिफिकेसन आयाे । कामकाे व्यस्तताले क्लिक गर्ने मन हुँदाहुँदै भ्याइन । करिब आधा घण्टापछि खाेलेर हेर्दा आँखाबाट आँसु थाम्नै सकिनँ ।

             विगतले नराम्रो गरि झस्कायाे । त्याे बालापन अनि ती बालसखाहरू । अनि त्यतिबेलाका स्मृतिहरू । ती दिन र वर्तमानलाई तुलना गर्दा लाग्छ, जीवन त भेट्नु र छुट्टिनु पाे रहेछ । यादहरूले संग्रहित विगत र भाेगाईहरू बीच एक चक्र । जुन निरन्तर बगिरहन्छ । तिला नदि बगे जस्तै अविरल । समयकाे बेगसँगै एकतमासले । अनि याे अनुभूति नलेखेर बस्नै सकिनँ ।          खासमा त्याे फेसबुक नाेटिभिकेसन कस्ताे थियाे भन्नुहाेला,त्याे थियोे,मेरा गुरु लालप्रसाद चाैलागाईंकाे । फेसबुक स्टाटस थियाे,उहाँ कार्यरत विद्यालयमा आयाेजित विदाई कार्यक्रमकाे । फेसबुकमा उहाँले लेख्नु भएकाे छ,`आज विदाईको दिन विद्यार्थी तथा अभिभावक ज्युहरुले देखाएको माया र सद्भाव प्रति म सधैं ऋणि रहने छु।´

            त्यसमा   आधा दर्जन भिडियाे र ५१ वटा फाेटा छन् । ती विदाई कार्यक्रमका कहिल्यै भुल्न सकिने प्रमाण हुन् । जहाँ आफूलाई पढाउने शिक्षककाे विदाईमा विद्यार्थीले आँसु थाम्न सकेनन् । दुई-चार कक्षामा पढ्ने विद्यार्थी राेइरहेका छन् । स्वयम् चाैलागाई पनि राेइरहेका छन् । अबाेध केटाकेटीका आँशुले उनलाई राेक्न सकेनन् सायद । उनी राेइरहेका विद्याथर्थीलाई सम्झाउँदै भन्छन्,´नराेउ नराेउ तिमीहरू नराेउ, मलाई झन छारेइ ( रून मन) लाग्छ क्या ।´

         तर विद्यार्थीहरू बलिन धारा आँशु बगाइरहेका छन्, आफ्ना प्रिय शिक्षक अभिभावककाे विदाईमा । चाैलागाईकाे सम्मानमा विद्यालयमा अभूतपूर्व,हृदयविधारक विदाई कार्यक्रम सम्पन्न भयाे । याे कार्यक्रमकाे दृष्यले एकपटक निकै झस्किए म । मानाै,१२ रेक्टर स्केलकाे भुकम्प नै आए जस्ताे । विगतका ती नमेटिने पलहरूकाे सम्झना गराई दियाे ।

          नेपालगन्जकाे प्रचण्ड गर्मीमा मैले आफ्नाे जन्मभूमिकाे न्यानाे सितल र छहारीहरू सम्झिए । सम्झिए,कलास बंक गरेर नदिमा नुहाउन गएका दिनहरू । फर्किदा गुरूहरूले दिने सजाय । कति स्वर्णीम थिए,ती दिन ।
भगवती आधारभूत विद्यालय तातोपानी-६,धौलापानी,जुम्लामा चाैलागाईंले तीन दशक अध्यापन गराए -त्याेपनि प्रधानाध्यापककाे रूपमा । भगवतीलाई याे स्थानसम्म ल्याउन भूमिका खेलेका चाैलागाईकाे सम्मान कार्यक्रम आयाेजना हुनु स्वाभाविक थियाे । तर यस्ताे अविस्मरणीय हाेला, हृदयविधारक हाेला उनले पनि साेचेका थिएनन् । भन्छन्,` याे मेराे जीवनकाे अविस्मरणीय क्षण हाे । विद्यार्थीकाे अपार मायाले मलाई भावुक बनायाे । जुन म जिन्दगीभर भुल्नै सक्दिनँ ।´


उक्त विद्यालयमा  उनले करिब तीन दशक बढि (२०४९-२०८०) समयसम्म अध्यापन गराए । उनी २०८०/०७/०३ बाट सेवा निवृत्त भएका थिए ।
विद्यालयले उनलाई एक आदर्श शिक्षककाे रूपमा विदाई गरेकाे छ । `शिक्षक चाैलागाईकाे इमान्दारिता दक्षता तथा कार्य कुशलताको उच्च सम्मान गर्दै स्थानीय तह, जिल्ला तथा राष्ट्रले समेत पटकपटक सम्मान गरेमाे भन्दै  विद्यालयको शिर उचो भएकाे जनाएकाे छ ।

          अब विद्यालय सेवा बाहिरको बाँकी सेवा निवृत्त जीवन पनि सामाजिक प्रतिष्ठा कायम राख्दै सुखमय तरिकाले बितोस भन्ने कामना छ ।´विद्यालय प्रदान गरेकाे प्रशस्ति-पत्रमा भनिएकाे छ ।
चाैलागाईंले जीवनकाे महत्त्वपूर्ण समय धाैलापानीमा बिताए । धाैलापानी क्षेत्रमा उनी `लालप्रसाद सर´ नामले चिनिन्छन् ।उसाे त उनकाे ख्याति जिल्लाभर नै छ  शिक्षक,संकलक,कवि र देउडाप्रेमीका रूपमा ।  धाैलापानी, जेठीबाडा, खड्काबाडा र रावतबाडामा उनलाई नचिन्ने सायदै छन् । उनले पनि नचिनेका कमै हाेलान् ।

          २०४५ पछि जन्मेका बहुसंख्यकलाई उनले पढाएका छन् । उनी सबैका गुरु हुन् । मेरापनि गुरु हुन् । मलाई कखरा पढाउनेमध्येका एक गुरु हुन् । भगवती प्रावि त्याे स्कुल हाे, जहाँबाट मेराे विद्यालय जीवन सुरू भएकाे हाे ।

लाल सरले मलाई अहिलेपनि तिर्थ भनेर बाेलाउनुहुन्छ । त्याे एउटा गुरूकाे मायाकाे रूपमा लिएकाे छु । बालापनमा बिताएका सरसँगका पलहरू अविस्मरणीय छन् । उहाँले हामीलाई साविक १४ अञ्चल ७५ जिल्लाका नामबाट गीत बनाएर कण्ठस्थ गराउनु भएकाे थियाे । यहीँ गीत गाएर पदक नै जितेका थियाै ।

      मैले पहिलाेपटक देउडा खेलेकाे त्यहीँबेला हाे । मैले त्यतिबेलादेखि नै कविताबारे थाहा पाए । गीत लेख्न थालेकाे हाे । विभिन्न प्रतियोगितामा भाग लिन उत्प्रेरित गरिरहनु हुन्थ्याे ।
मैले स्कुल पढ्न सुरू गर्दा रजिस्टरकाे नाम तिर्थ थियाे । पछि मात्रै मेराे शुभाकर रहन गयाे । जुन नाम मेराे आफ्नाे राेजाई थिएन । स्कुलका सरहरूले जवरजस्ती राखिदिएका थिए,दुर्गा माविमा पढ्दा । यसकाे आफ्नै कथा छ । नामबारे पछि कुनैबेला लेखाैला ।

काे हुन् चाैलागाई,संक्षिप्त परिचय
लालप्रसाद चाैलागाईकाे जन्म वि.स. २०२१/७/३ गते भएकाे हाे । उनी ,बुवा छबिलाल चौलागाईं र माया चाैलागाईंका जेष्ठ सुपुत्र हुन् । उनका बुवा लोक कवि थिए ।  कविता गाउथे । उनले विएडसम्मकाे अध्ययन पूरा गरेका छन् । सुर्खेत शिक्षा क्याम्पसमा बि एड तेर्स्रो बर्षमै घरायसी कारणले छाेडेकाे उनी बताउँछन् । जुम्लामा तत्कालीन शिक्षा क्याम्पसबाट २०५० मा आइ एड पास गरेका थिए ।

२०४४ मा शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा नाम निकाले । २०४२ देखि ०४५ सम्म कालिका आवि तुंहिमा काम गरे । ०४५ देखि ०४९ सम्म मालिका आवि गौतमबाडामा काम गरेकाे अनुभव छ ।  २०४९  देखि / देखि २०८० सालसम्म आवि धौलापानीमा काम गरेर सेवा निवृत्त भए ।
शिक्षक अलवा उनी गीतकार र कविसमेत हुन् ।
तातोपानी गाउँपालिकाे लागू गरेको स्थानीय खषभाषाकाे १-५ काे पाठ्यपुस्तक लेखनमा विज्ञकाे रुपमा काम गरेकाे अनुभव छ । ताताेपानी कै गायक तिर्थ परियारको ” हाम्रो तातोपानी” भन्ने एल्बममा गाइएका १४ गितका रचनाकार हुन् । ताताेपानी गानका रचयितासमेत रहेका उनी कविसमेत हुन् ।