कठै ! भेरीखाेला, विकास कहिले हाेला ?

बुझ्दिने काेहीपनि छैन,कठै !भेरीखाेला।                       सुनिने,देखिने गरी ,कहिले विकास हाेला।
प्रस्तुत गीतकाे हरफ गाएका हुन्,तातोपानी-८ टाेप्ला गाउँका वीरबहादुर शाहीले । आफूलाई `डाँडाघरे माइला´ भनेरसमेत चिनाउन रूचाउने शाहीले गीतकाे हरफले भेरीखाेला क्षेत्रकाे तिताे यथार्थ उजागर गरिदिएका छन् ।

वीरबहादुर शाही (डाँडाघरे माइला)

जसरी गीतमार्फत बिम्बात्मक रूपमा आफ्नाे क्षेत्रकाे विकास नभएकाे भन्दै गम्भीर शब्दजाल बुनेका छन्, विपरीत छ,उनकाे नामसँग जाेडिएकाे राेचकता ।

उनी टाेप्ला गाउँका ठकुरी हुन् ।खेती किसानी गर्छन् । बाउआमाका माइला सन्तान । घर छ, डाँडै माथि । त्यसै डाँडा घरे भनेर बाेलाउँछन्,गाउँलेपनि । टाेप्ला गाउँकाे पुच्छर छेउमै उनकाे रस्तीबस्ती । त्यसैले उसैले न्वारान गरेकाे नाम हाे, डाँडाघरे माइला ।

उनी माण्ठा गज्जबका छन् । ठट्याउली स्वाभावका । रमाइलो गर्ने बानी छ । अनि मनमा लागेकाे कुरा ढुक्कले भन्न सक्ने खुबी छ,उनमा । उनकाे अन्तर ह्रदयमा जे कुरा छ,त्यहीँ ओेकेलेका छन्,प्रस्तुत गीतमा ।

    लेख चर्न्या चाैरी गाइअ,बेसी झर्याका नाई ।
  नेता आउँदा भाषण गर्दा,विकास गर्याका नाई ।

उनी पेसाले गाेठाला हुन् । अधिकांश समय लेकतिरै बित्छन् । साथी छ भाेटे कुकुर । अनि संगति छन् । केही थान भेडाबाख्रा । उनीहरूकाे हेरचाहमै आधा जवानी सकियाे । यतिबेला चिसाेले ढपक्क ढाकीसक्याे जुम्लामा ।

भेरीखाेला क्षेत्रका ताम्ती र बारागाउँ ।

टाेप्लामा त झन विहान ९:०० बजे घाम लाग्छ । दिउँसाे ३:२० मा माघ गइहाल्छ,आजकल । मेला पर्वकाे बेला घर आइपुग्छन्, उनी ।
एक भुईमान्छे हुन् माइला । तर, उनलाई गाउँमा विकास नभएकाे पीर छ । पीर छ,विकासमा पछि परेकाे भेरीखाेला । भेरीखाेलाकाे विकास गर्छाै भन्ने नेता धेरै आए,गए ।

तर, भेरीखाेलामा पानी धेरै बग्याे, धेरै बसन्त ऋतुहरू आए । अपसाेच,शिशिर झैँ छन्,त्यहाँका माण्ठाका मन । त्यहाँकाे रस्तीबस्ती अनि विकासकाे अवस्था ।

भेरीखाेला क्षेत्र

    त्रिवेणी-टाेप्ला सडकमा जाेखिमपूर्ण यात्रा गर्दै ।

त्यहाँका जनताले विकासकाे महशुस गर्न पाएका छैनन् । त्यसैले त उनी गीतमा बिरहकाे भाका पाेख्छन् । याे उनकाे व्यक्तिगत समस्या हाेइन । याे त सिंगाे भेरीखाेला क्षेत्रकाे आवाज हाे ।

याे क्षेत्र तातोपानी-७ र ८ मा पर्छ । यसलाई भेरीखाेला क्षेत्र भनिन्छ । तातोपानीका अन्य वडा भन्दा विकासका दृष्टिले पछि छ,याे क्षेत्र । यहाँका नागरिककाे कष्टकर र अभावमय जीवनशैली परिवर्तन हुन सकेकाे छैन ।

व्यवस्था फेरियाे, नेतृत्व फेरिए,तर भेरीखाेला क्षेत्रकाे सम्मुचित विकास हुन सकेन । मानिसका आधारभुत आवश्यकता परिपूर्ति गनर्नसमेत धाैधाै छ । विकास पखर्खिरहेकाे छ, भेरीखाेलाले । भेरीखाेला विकासका लागि तातोपानी गाउँपालिकाले विशेष क्षेत्र ताेकेकाे छ ।

भेरीखाेलालाई विकासमा प्राथमिकतामा राखिएकाे बताउँछन्, तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईँ । उनी भन्छन्,`भेरीखाेलालाई हरेक याेजनामा प्राथमिकता दिएका छाै । यहाँकाे विकास स्थानीय सरकारले सकेसम्म काम गरिरहेकाे छ ।´ स्थानीय सरकारले भेरीखाेलाकाे विकासका लागि विशेष क्षेत्र नै घाेषणा गरेकाे छ ।

अहिलेपनि त्यहाँ विकासका पूर्वाधार पुगेका छैनन् । खानेपानीकाे समस्या छ । राष्ट्रिय प्रसारण लाइन पुगेकाे छैन । अहिलेसम्म त्यहाँ सडक पूर्वाधार पुग्न सकेकाे छैन । अहिलेपनि तिला गाउँपालिका हुँदै भेरीखाेला पुग्नुपर्छ ।

भेरीखाेला क्षेत्रकाे लागि लाइफलाइन मानिएकाे त्रिवेणी-टाेप्ला सडक छ । तर,अहिलेपनि स्तराेन्नति हुन सकेकाे छैन ।
उक्त सडक सञ्चालन भएको वर्षौ भयाे ।  ग्राभेल समेत नहुँदा नागरिकले सास्ती भाेगिरहेका छन् ।

याे जाजरकोट जाेड्ने सडकसमेत हाे । भेरीखाेला जिल्ला तहदेखि केन्द्रीय स्तरमा राम्रो राजनीतिक पहुँच भएकाे क्षेत्र हाे । तथापि,याे सडक बेहाल अवस्थामा छ

नेपाली काँग्रेस जुम्लाका सभापति कर्णबहादुर शाही,माओबादी केन्द्रका महिला नेत्री तथा पूर्वराज्य मन्त्री गोमा कुँवर गौतम,नेकपा एमालेबाट दुई पटक पालिका अध्यक्ष उम्मेदवार बनेका र केन्द्रमा राम्रो पकट भएका सुरत बहादुर शाही भेरीखोलाकै स्थानीय बासी हुन् ।

जिल्लादेखि राष्ट् हाक्न सक्ने नेता जन्माएको भेरीखोलाले हासम्म त्रिवेणी–टोप्ला सडक स्तरोन्नति गर्ने प्रयाप्त बजेट पाउन सकेको छैन् । पालिकाको बजेट वर्खाको पहिरो पन्छाउने ठिक्कै छ ।

भने सडक डिभिजनले सधै बजेट अभावले काम गर्न नसकेको बताउँदै आएको छ । भने स्थानीय सरकार हाम्रो कार्यक्षेत्र होइन भन्दै पन्छिरहेको छ । भने तातोपानी गाउँपालिकाले पनि हाल सम्म उक्त सडक खण्ड सुधार गर्नका लागि कतै पहल कदमी गरेको छैन् ।

नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रीत हुँदा यहाँका सामाजिक मुद्दा ओेझेलमा छन् । यहीँ क्षेत्रमा जन्मे हुकर्केका नेताहरू शहर पसेपछि गाउँलाई बिर्सिएकाे स्थानीयकाे दुःखेसाे छ ।

यता,त्रिवेणी–टोप्ला सडक हेर्ने निकाय सडक डिभिजन जुम्लाले त्यस क्षेत्रको सडक स्तरोन्नतिमा गम्भीरता देखाएको छैन् । दैनिक रुपमा त्रिवेणी–टोप्ला सडक खण्डमा ४÷५ वटा डबल क्याप बोलेरो जीप गुड्छन् ।

५÷६ जनाको मात्रै सिट क्षामता भएको जीपमा झण्डै २५÷३० जना सम्म यात्रु हालेको समेत भेटिएको छ ।

एक लेनको साँघुरो,खाल्डाखुल्डी भएको,हिलोधुँलो भएको सडकमा जोखिम मोलेर यात्रा गर्न स्थानीय बाध्य छन् । स्थानीय जनप्रतिनिधिदेखि सांसदले ज्यान दाउमा लगाएर यात्रा गर्न बाध्य नागरिकको समस्या बुझ्न नसकेको टोप्लाका स्थानीय प्रेम बहादुर शाही बताउँछन् ।

उनले भने,‘नेतै नेता जन्माएको भेरीखोलाले दैनिक जनजीवनसँग जोडिएको सडकको दुरावस्था हुँदा समेत कसैले ध्यान दिएका छैनन् । स्थानीय सरकार आफ्नो कार्यक्षेत्रमा पदैन् भनेर पन्छिने । वर्खाको समयमा बाढी आएर कति बाईक बगेका छन् । ज्यानै गएकाे छ ।

हिउँदमा धुलो वर्खामा हिलोको सास्ती उस्तै छ । नेताहरु चासो नदिने,कहिले सम्म ज्यान दाउँमा राखेर यात्रा गर्ने ?’

माओवादी नेतृ तथा पूर्वराज्यमन्त्री गोमा कुँवर गौतमले चुनाव हारेपनि हाम्रै पहलमा गत वर्ष त्रिवेणी–टोप्ला सडक स्तरोन्नतिका लागि पाँच करोड बजेट विनियोजन गर्न लगाएको बताइन् । त्रिवेणी–टोप्ला सडकको त्रिवेणीदेखि नुवाकोट सम्म ग्राभेल भएको सडक हाम्रो पहलमा भएको हो ।

यता,सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र कुमार चौधरी उक्त त्रिवेणी–टोप्ला सडकको सुरु विन्दुबाट नुवाकोट सम्मको ग्राभेल गर्ने काम भएको बताउँछन् । सडककै दुरावस्थाका कारण जनताले सास्ती पाएपनि बजेट अभावका कारण काम गर्न नसकिएको उनको भनाइ छ ।

उक्त सडक स्तरोन्नतिको लागि भने दुई वटा ठेक्का लगाएर काम भईरहेको छ । यद्यपि उक्त सडक स्तरोन्नतिका लागि चालु आवमा थप बजेट नभएको प्रमुख चौधरीले उल्लेख गरेका छन् ।स्थानीयकाे निरीहपन,नेताहरूकाे बेवास्ता  र सराेकारवालाहरूकाे सक्रियता पर्खिरहेकाे छ, भेरीखाेला ।