जुम्ला : जिल्लाकाे पातारासी-४ की एक सुत्केरी महिलाकाे
सेक्न बालेकाे काेइलाकाे धुवाँमा निस्सासिएर निधन भएकाे छ । पातासारी घर भइ जिल्ला सदरमुकामस्थित कालेखाेलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महताराकाे उपचारकाे क्रममा निधन भएकाे हाे ।
उनी ११ दिनकाे सुत्केरी हुन् । धुवाँमा निस्सासिएर मृतक महताराकी बहिनी जुनमाया राेकया र ११ दिने दूधे बच्चापनि घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीका अनुसार दुवैजनाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेकाे छ ।
सुत्केरी महताराकाे भने अस्पताल पुर्याएकाे केही समयमै निधन भएकाे उनकाे भनाइ छ । तीनै जनालाई साेमबार विहान सवा सात बजे उपचारका लागि प्रतिष्ठान लगिएकाे थियाे ।
प्रमुख कामतीले जुम्लादर्पणसँग भने,` उनीहरू दुई तले घरमा बस्दा रहेछन् । सुत्केरी भएकाेले तेलमा मेथी र आगाे बालेकाे पाइएकाे छ । हिजाे आफन्तहरूकाे पनि जमघट भएकाे रहेछ । राती ११ बजे श्रीमान र सासू माथिल्लाे काेठामा सुतेछन् । ´
मृतक महतारा र बहिनी राेकाया तल्लाे काेठामा सुतेकाे आफन्तले बताएकाे उनले बताए । साेमबार विहान भने अबेरसम्म नउठेपछि आफन्तले ढाेका फाेडेपछि बल्ल घटना बाहिरिएकाे हाे । प्रहरी घटनास्थल पुग्दा सुत्केरीलाई तताउन आगाे बालेकाे पाइएकाे छ ।
आफूहरू घटनास्थल पुग्दापनि धुवाँकाे प्रभाव बाँकी नै भएकाे उनकाे भनाइ छ । अब बाँकी पाेष्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीले बताएकाे छ । प्रहरीका अनुसार राेकाया र बच्चाकाे आइसियूमा उपचार भइरहेकाे छ ।
जुम्ला दर्पण । ८ श्रावण २०८१, मंगलवार ०९:१४