लघुकथा- हार की जीत

एकाबिहानै उठेर उनले मेरो खुट्टा ढोगिन् ,अनि भित्तामा टाँगिएको भगवानको फोटोसँग प्राथना गरिन् । त्यसपछि मेरो खुट्टा पखालेको पानी मुखतिर लाँदै थिइन्, मैले रोक्दै भनेँ “के गरेको यो? मलाई यस्तो मन पर्दैन”।

“म हजुरकी दासी हुँ र दासी भएरै बाँच्न चाहान्छु उनले खुट्टा समाउने प्रयास गर्दै भनिन् “। “तिमी मेरी दासी होइनौ, लामो जिन्दगीकी सहयात्री हौ । दु:ख सुखकी साथी हौ । अब बाट यस्तो हर्कत आइन्दा नगर्नु “।

उनले भनिन् “एउटा गैरसरकारी संस्थामा भ्याकेन्सी खुलेको रहेछ तलब सुविधा राम्रो रहेछ निवेदन हालौं र ?” उनी म बराबर पढेकी थिइन् । चुलो चौका मै सिमित राख्न चाहादिनथें म । त्यसैले अनुमती दिएँ ।

उनी छनोट भइन् । हामी कामबाट दुबै लखतरान परेर आउथ्यौं । उनी घरको काममा जुट्थिन् । उनले नभ्याएको काममा म सघाउ पुर्‍याउथेँ ।

हिजो आज उनी महिला अधिकार सम्बधी काम गर्ने संस्थामा पनि जोडिएकी छिन् । उनको काम गराइमा पनि निकै फरक आएको छ । बिहान सबेरै उठ्छिन् ,मलाई पनि उठाइदिन्छिन् । आफू भित्र सफा गर्न लागिन् भने मलाई आँगन बढार्न लगाउँछिन् ।

भात बसालिन् भने तरकारी पकाउन लगाउँछिन् । कराइ माझिन् भने भातको भाँडो माझ्न लगाउँछिन् । डाडु पखाले पन्यु घोट्न लगाउँछिन् । व्यक्तिगत काम त आ- आफ्ना भै हाले ।

उनको यो रुखो व्यवहार देखेर मैले आजित हुँदै भनेँ “हैन ,सबै कुरामा बराबर गर्न जरुरी छ र शुसिला ?”

“नारी पुरुष दुबै समान , अझ भन्ने हो भने हामी पुरुष भन्दा एककदम अगाडि छौं । हामी बच्चा पैदा गर्न सक्छौं तिमीहरू सक्दैनौ । महिलालाई दास सम्झने प्रवृत्तिको अन्त हुनैपर्छ ।”

यो रटिरटाइ भाषण उनले संस्था कि अध्यक्ष बाट सिकेकी हुन् ।

हामीले एउटा खेत किन्यौं । धान रोप्यौ । धान पसाउन शुरु भयो । जङ्गली जनावरको भय थियो । हिजोदेखि पालो लगाइयो । आज उनको पालो थियो। एकाबिहानै उठेर उनी घरदेखि अलि पर रहेको खेतमा पुगिन् ।

म खाना बनाउन लाग्दै थिएँ । खेतमा पुगेको पाँच मिनेट नपुग्दै हस्याँङ्ग फस्याङ्ग गर्दै आँगनमा आईन् । मैले सोधें “के भयो सुशिला यसरी आत्तिएकी?”

हेर्नुस् न , आईमाई र केटाकेटीहरू भागे , त्यो बोको लाखु ( बाँदर ) चाहिँ टेर पुच्छर नै लाउँदैन। अझ कोपार्न पो आउँछ ! बल्ल बल्ल भागेर आएँ।
मैल भनें “आजलाई मै जाउँला,भोलिदेखी मेरो कोट र टोपी लगाएर जाउ न त।”

– राजु क्षत्री ‘अपुरो ‘/कास्की