जुम्ला : असाेज १९ गतेदेखि सुरू भएकाे खुल्ला पुरूष फुटबल प्रतियोगिताकाे क्वाटर फाइनल समीकरण सकिएकाे छ । साेमबार तीन खेल सम्पन्न भएसँगै क्वाटर फाइनल समीकरण पूरा भएकाे हाे ।
साेमबार भएकाे पहिलाे खेलमा तातोपानी -६ ले बुद्व एफसीलाई १-० गाेल अन्तर हराउँदै सेमीफाइनल पुगेकाे हाे । तातोपानी -६ लाई जिताउन धनराज खड्काले निर्णायक गाेल गरे । तातोपानी -६ ले समूह चरण र क्वाटर फाइनलका खेलमा सबै खेल जित्दै सेमीफाइनलकाे यात्रा तय गरेकाे छ ।
दाेस्राे खेल जेनजी एफसी र ब्ल्याक डायमण्डबीच भएकाे थियाे । निर्धारित समयमा दुवै टिम गाेलरहित बराबरीमा राेकिएपछि पेनाल्टी सुटआउट भएकाे थियाे । पेनाल्टीमा ब्ल्याक डायमण्ड ४-३ गाेल अन्तरले विजयी भएर सेमीफाइनलमा स्थान पक्का गरेकाे हाे ।
साेमबार नै भएकाे अन्तिम क्वाटर फाइनल खेलमा घाेगेसिम युवा क्लबलाई १-० गाेलले स्तब्ध बनाउँदै एच वान युवा क्लब सेमीफाइनल पुग्न सफल भयाे । यसअघि आइतबार पेनाल्टी सुटआउटमा हाँकु एफसीलाई पराजित गर्दै जुम्ला एफसी सेमीफाइनल पुगेकाे थियाे ।
साेमबार क्वाटर फाइनल समीकरण पूरा भएसँगै सेमीफाइनल पुग्ने चार टाेलीकाे टुंगाे लागेकाे हाे । अब मंगलबार सेमीफाइनलमा स्थान पक्का बनाएका चार टाेलीले फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछन् ।
आयाेजक गिडिदह युवा क्लबका अनुसार मंगलबार विहान १० बजे पहिलो सेमीफाइनल खेल सुरू हुनेछ । फाइनल प्रवेशका लागि एच वान युवा क्लब र ब्ल्याक डायमण्डबीच प्रतिष्पर्धा हुनेछ । जित्ने टीम फाइनल प्रवेश गर्नेछ ।
यस्तै दाेस्राे खेल उपाधि दाबेदारका रूपमा हेरिएका तातोपानी -६ र जुम्ला एफसीबीच हुनेछ । याे खेललाई फाइनल सरहका रूपमा हेरिएकाे छ । बुधबार प्रतियोगिताकाे फाइनल खेलमा सेमीफाइनल जितेका दुई टिमले उपाधिका लागि भिडन्त गर्नेछन् ।

जुम्ला दर्पण । २७ आश्विन २०८२, सोमबार १८:०१