जुम्ला, असोज २० ।जुम्लाको तातोपानी गाउँपालिका–४ गिडिखोला निवासी १९ वर्षीय दिपेन्द्र न्यौपाने भालुको आक्रमणमा परि गम्भीर घाइते भएका छन्। आज बिहान करिब १० बजेतिर गिडिखोला गाउँस्थित सिद्धविनायक सामुदायिक वनअन्तर्गत ओखरपाटा थाप्ली भन्ने स्थानमा दिपेन्द्रमाथि भालुले आक्रमण गरेको स्थानीयहरुले जानकारी दिएका छन्।
घाइते न्यौपाने गाउँकै श्री चन्द्रप्रसाद जैशीका कान्छा छोरा हुन्। भालुको आकस्मिक आक्रमणबाट उनको टाउको, हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ। स्थानीयको सहयोगमा उनलाई तत्काल उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको र हाल इमरजेन्सी कक्षमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
घटनापछि स्थानीयवासी त्रसित भएका छन्। पछिल्लो समय सो क्षेत्रमा वन्यजन्तुको आवतजावत बढ्दै गएपछि स्थानीयहरूमा डर र असुरक्षा बढेको बताइएको छ।
घाइते दिपेन्द्र न्यौपानेको स्वास्थ्य लाभको कामना गर्दै स्थानीयले वन क्षेत्रमा सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।

डिल्ली कामी । २० आश्विन २०८२, सोमबार १३:५९