झडपपछि कैलाली कारागार कैदीहरुको कब्जामा

धनगढी : कैदीहरुबीच भएको झडपमा एक जनाको  मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको कब्जामा छ । शुक्रबार मध्यराती झडप भएपनि त्यसपछि कारागारभीत्रको घटनास्थलमा सुरक्षा निकायका पदाधीकारी नै जान सकेका छैनन ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलालीका प्रहरी उपरिक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीत सहितका सुरक्षा अधिकारीहरु कारागारको अवस्था बुझ्न गएका थिए । तर कैदीहरुले उनीहरुलाई कारागारभीत्र पस्न दिएनन ।
‘हामीहरु अहिलेसम्म पनि कारागारभीत्र पस्न सकेका छैनौं । उनीहरु आक्रोसित छन । थप घटना नहोस भनेर नै हामीले भीत्र जान पनि खोजेका छैनौं’ प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले भने । जिल्ला सुरक्षा समितिको बैठकले अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेका छन ।
घटनापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि कारागारभीत्रको घटनास्थल सम्म पुग्न सकेको छैन । ‘घटना बारे बुझिरहेका छौं । कारागार प्रशासनको कार्यालयसम्म त पुग्न सकिएको छ तर कारागारभीत्र भने जान सकिएको छैन’ राष्ट्रिय मानवअधिकार आयोगका एक अधिकृतले भने ।
कारागारमा शुक्रबार राती सामुहिक झडप भएको थियो । झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाईते भएका छन । यसअघि ४७ जना घाईते भनिएकोमा घाइते अवस्थामै कारागारको छतमा लुकेका थप २ जना प्रहरीको टोली पुगेपछि फेला परेका हुन ।
मृतक चौधरीको शव सेती प्रादेशीक अस्पतालको शवगृहमा राखिएको छ । घाईते ४९ जनालाई सेती प्रादेशीक अस्पतालमै उपचार भईरहेको छ । सेती प्रादेशीक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर शेर बहादुर कमरले घाईतेहरु मध्ये अधिकांसका हातखुट्टा भाँचिएका छन । उनले झडपमा फलामका रडहरुको बढी प्रयोग भएको बताए ।
‘फलामे रडहरुको बढी प्रयोग भएको छ । घाईतेहरुलाई ठुलो चोट लागेपनि उनीहरु खतरामुक्त छन । एकजनाको सल्यक्रिया भएको छ । एकजनालाई आईसीयुमा भर्ना गरिएको छ’ डाक्टर कमरले भने । सेती प्रादेशीक अस्पतालको ईमरजैन्सीमा उपचारका लागि स्थान नपुेपछि घाईतेहरुलाई नजिकै रहेको कोरोनाका बेला बनाईएको भवनमा सारिएको छ ।

कैलाली कारागार घटनाको छानवीनका लागि सहायक प्रजिअको नेतृत्वमा समिति गठन

धनगढी : जिल्ला सुरक्षा समितिले कैलाली कारागार घटनाको छानबीनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । शनिबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।
समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक राजकुमार सिह, शसस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेको पाँच सदस्यीय छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।
समितिलाई १० भित्र आवश्यक छानबिन विधिको प्रयोग गरी प्रतिवेशन बुझाउन समयसीमा तोकिएको छ । कैलाली कारागारमा कैदीबन्दीका दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाईते भएका छन ।