जुम्ला, रासस
जुम्लाको चन्दननाथ नगरपालिका–७ स्थित देवल खलाचौरमा तिला नदीमा झोलुङ्गे पुल निर्माण हुँदा नगरपालिकाका स्थानीयवासीलाई आवतजात गर्ने निकै सहज भएको छ ।
नेपाल सरकारको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग सस्पेन्सन बृज डिभिजनबाट निर्मित सो पुल एक सय ९० मिटर स्पान र ५७ मेट्रिक टन भारवहन क्षमता भएको निर्माण व्यवसायी काग्री निर्माण सेवाले जनाएको छ ।
नगरपालिकाको विशेषगरी ७ र १० वडाका स्थानीयवासीलाई सो पुल भएर आफ्नो घर जान र आउनका लागि राहत पुगेको यहाँका स्थानीयवासी बताउँछन् । पुल नहुँदा तिला नदी पार गरेर एक गाउँबाट अर्को गाउँ जाने अवस्था थियो । अहिले पुल निर्माण भएपछि नगरपालिकाका सबै वडाका स्थानीयवासीलाई राहत पुगेको स्थानीयवासी वीरेन्द्र शाहीले जानकारी दिए ।
जिल्लाकै सबैभन्दा लामो पुल भनेर पनि उक्त पुल चिनिने गरेको छ । पुल निर्माण भएपछि जिल्लाका स्थानीयवासीको पुलमा फोटो खिच्नेदेखि टिकटक बनाउनेको भीडभाड हुने गरेको छ । सामाजिक सञ्जालमा सो पुलको फोटो सार्वजनिक भएपछि जुम्लाको भाइरल पुल भनेर पनि चिनिन्छ ।
जुम्ला दर्पण । ३० श्रावण २०७९, सोमबार ११:०६