जुम्ला :जुम्लामा जारी वडा दशै तथा दिपावलीकाे अवसरमा आयाेजित खुल्ला पुरूष फुटबल प्रतियोगितामा क्वाटर फाइनलका ४ खेल सम्पन्न भएका छन् ।
शुक्रबार तातोपानी -४ स्थित फुटबल मैदानमा ४ खेल सम्पन्न भएका हुन् । शुक्रबार सम्पन्न चाैथाे खेलमा साथी एफसीलाई २-१ गाेल अन्तरले हराउँदै तातोपानी-६ सेमिफाइनल प्रवेश गरेकाे छ ।
तातोपानी-६ लाई जिताउन धनराज खड्का र कृष्ण कठायतले गाेल गरे । साथी एफसीका कप्तान नवीन बुढ्थापाले एक गाेल गरेका थिए ।
तेस्राे खेल ब्ल्याक डायमण्ड एफसी र जनसेवा युवा क्लबबीच भएकाे थियाे । निर्धारित समयमा गाेल नभएपछि पेनाल्टीमार्फत नतिजा निस्किएकाे थियाे । पेनाल्टीमा ४-३ गाेल अन्तरले जनसेवालाई हराउँदै ब्ल्याक डायमण्ड विजयी भयाे । दाेस्राे खेलमा सप्तशिला युवा क्लब र जुम्ला एफसीले प्रतिष्पर्धा गरेका थिए । निर्धारित समयमा १-१ गाेलकाे बराबरी भएपछि पेनाल्टीमा जुम्ला एफसी विजयी भयाे ।
शुक्रबार सम्पन्न क्वाटर फाइनलकाे पहिलाे खेल हाँकु एफसी विजयी भएकाे छ । उसले पेनाल्टीमा देपालगाउ एफसीलाई हरायाे ।
शुक्रबारकाे खेल जितेका चार टिम सेमिफाइनल प्रवेश गरेका छन् । शनिबार क्वाटर फाइनलका चार खेल हुने आयाेजकले जनाएकाे छ ।गिडि दह युवा क्लब तातोपानी -४ काे आयाेजनामा सुरू भएकाे खुल्ला पुरूष फुटबल प्रतियोगितामा प्रतियोगितामा ३३ टिमकाे सहभागी रहेकाे छ । गिडि दह युवा क्लबका अध्यक्ष गणेश जैसीका अनुसार प्रतियोगिता असाेज २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताकाे विजेताले कुल १ लाख १ हजार १ सय ११ रूपैयाँ पुरस्कार पाउनेछ ।

जुम्ला दर्पण । २४ आश्विन २०८२, शुक्रबार २०:११