जुम्ला – तातोपानी गाउँपालिका–४ स्थित हाँकु रंगशालामा असोज १९ गतेदेखि सुरु भएको खुला पुरुष फुटबल प्रतियोगिता आज सफलतापूर्वक सम्पन्न भएको छ।
फाइनल खेलमा जुम्ला फुटबल क्लब (एफसी) ले उत्कृष्ट प्रदर्शन गर्दै एचवान युवा क्लब हाँकु (एचवान) लाई पराजित गर्दै उपाधि आफ्नो नाममा पारेको हो। रोमाञ्चक फाइनलमा जुम्ला फुटबल क्लबले २–१ गोलको जित निकाल्दै जिल्ला स्तरीय प्रतियोगिताको विजेता बनेको हो।
दशैं–तिहारको अवसर पारेर आयोजना गरिएको यो प्रतियोगिता तातोपानी–४ को गिडिदह युवा क्लबले आयोजना गरेको हो। प्रतियोगितामा जिल्लाका ३३ वटा क्लबहरू सहभागी भएका थिए, जसले खेलकुदप्रतिको उत्साह र प्रतिस्पर्धात्मक भावना झल्काएको थियो।
विजेता बनेको जुम्ला फुटबल क्लबले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँ, साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता एचवान युवा क्लब हाँकुले रु. ५१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो।
हाँकु खेलमैदानमा पहिलो पटक आयोजना गरिएको यस जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताले खेल क्षेत्रको विकास र स्थानीय युवाबीच एकता सुदृढ गरेको आयोजकले जनाएको छ।
समापन समारोहमा तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने सबै टिम, खेलाडी, दर्शक र आयोजक क्लबप्रति धन्यवाद ज्ञापन गर्दै खेलकुदले गाउँको प्रतिष्ठा र पहिचान बढाएको उल्लेख गर्नुभयो।
आयोजक गिडिदह युवा क्लबका अनुसार आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरेर खेलकुदलाई अझ सशक्त बनाउने योजना रहेको छ।

डिल्ली कामी । २९ आश्विन २०८२, बुधबार १९:३६