बालबालिकाको वृद्धि र विकास आफ्नै गतिमा हुने गर्दछ । यसका साथै निश्चित समय अवधिमा निश्चित सिप तथा व्यवहार विकास भएको हुनुपर्दछ । यसका बाबजुद् पनि कुनैकुनै बालबालिकाको समग्र विकास अन्य बालबालिकाको भन्दा पृथक देखिने गर्दछ ।

आफ्नै उमेरका बालबालिकाले देखाउने व्यवहारमा पनि धेरै भिन्नता देखा पर्दछ । बालबालिकामा हुने विकासका विभिन्न चरण र क्षेत्रहरु हुन्छन । जस्तै: चाल,भाषा,भावना,व्यवहार,दृष्टि सुनाई र बोलाई जस्ता भावहरु सामाजिक सञ्चार महत्वपुर्ण मानिन्छन् ।
यति धेरै बालबालिकाका विकासका क्षेत्रलाई न त अभिभावक न त शिक्षक शिक्षिकालाई नै थाहा हुन्छ । जसले गर्दा हाम्रा सामुदायिक विद्यालयमा कैयौं यस्ता बालबालिका आउने गर्दछन् । जुन बालबालिकाहरु अन्य भन्दा बेग्लै रुपमा फरक व्यवहार प्रर्दशन गर्दछन् ।
साना बालबालिकाका लागि घरनै संसारको रुपमा रहेको हुन्छन । घरमा हुने हरेक गतिविधिको सिको गर्दागदै बालबालिका हुर्किरहेका हुन्छन । घरमा बोलिने भाषाशैली गरिने व्यवहारमा क्रमशःउनिहरु अभ्यस्त हुन थाल्दछन् ।
घरमा रहदा सबैभन्दा नजिक भनेका आमा र बुवा नै हुन्छन् । उनिहरुले आमा बुवालाई नै सबथोक मान्दछन् । आमा बुवालाई नै उनिहरु आफ्नो आदर्श मान्दछन् । आमा बुवाले जे जस्तो गर्दछन् , त्यसकै अनुसरण गर्ने गर्दछन् ।
यसरी घरमै सबैथोक पाएको बच्चा विद्यालय जादा के असर हुन्छ ? के भोग्न बाध्य हुन्छ ? कहिले ख्याल गरेका छौ ? अलि हुर्किए पछि बुवा आमाले बालबालिका लाई विद्यालय पठाउने तयारी गरिहाल्छन् ।
तब प्रश्न खडा हुन्छ कि सबै बच्चा सधैं सजिलै विद्यालय जाने पढ्ने सब साथीहरुसँग बोल्ने बस्ने खाने खेल्ने गर्छन् ? यिनिहरु अरु भन्दा बेलकुल फरक हुने गर्दछन् ।
एउटा बालक विद्यालयमा पहिलो दिन आउदा कस्तो असर पर्ने रहेछ ? यस्तै घटना मेरो विद्यालयमा घटेको थियो । कालो वर्णको ६ वर्षको सरसफाईमा कमि,मैलो कपडा,खाली झोला,मन भरि डर भरेर त्यो बच्चा ५ कक्षा पढ्ने उनकै दिदिसँग विद्यालय आएको थियो ।
उनको लागि विद्यालय एक नयाँ संसार थियो । कहिले नगएको कहिले नदेखेको पहिलो पटक कक्षा ई.सि.डि मा राख्ने भन्नु भएको थियो ।
अभिभावकले हामीले पनि सोही अनुसार कक्षा ई.सि.डि बस्ने प्रबन्ध मिलायौं । कक्षा सुरु भयो सबै शिक्षक कक्षाकोठामा जानु भयो म कक्षा पाँचमा गए । कक्षाकोठा भित्र छिर्दा त्यो बच्चा आफ्नै दिदिसँग बसिरहेको थियो ।
अनि मैले भने तिम्रो कक्षाकोठा यता होईन उता छ,जाउ आउ यति मात्र के भनेको थिए उ रुन थाल्यो । उ लाई जति फकाए पनि नजाने अवस्था आयो मैले आजको दिन यतै बसाल भनेँ दिदिलाई ।
कक्षा सुरु भयो भोलिपल्ट स्कुल गए सधैझैं कक्षाकोठा भित्र छिरे त्यो बच्चा त्यहि थियो । फेरी भने यो तिम्रो कक्षाकोठा होईन जाउ आउ तिम्रो कोठा भन्दा मानेन् मान्दै मानेन् उसले जान ।
यो क्रम करिब ५—७ दिनसम्म नै चल्यो धेरै कोसिसका बाबजुद पनि उ जान तयार भएन बरु उसले त्यो कक्षाकोठा छाडेर स्कुलको छतमा गएर बस्न थाल्यो । न कसैसँग बोल्छ न कसैसँग संगत गर्छ । पुरै दिन एक्लै छतमा बस्ने दिउँसो खाजा खाने काम मात्र गर्ने थाल्यो ।
उसलाई हरेक कुराले फकाउने काम भयो । अहँ ! उसले केही गरे पनि कक्षामा जान मानेन जसले गर्दा उ सबै भन्दा हेलाको विद्यार्थी भई सकेको थियो, शिक्षकबाट,साथीबाट,परिवारबाट उ एक्लिदै थियो ।
पढाइका लागि विद्यालयमा उ सजाय भोग्न आएको जस्तो थियो । गाली खाई रहेको थियो कुटाई खाई रहेको थियो । दिदिको लागी झन्झट,शिक्षकका लागी झन्झट मात्र भएको थियो । समग्रमा उ विद्यार्थी कै झन्झट मात्र भएको थियो ।
यो क्रम दुई हप्तासम्म चलि रह्यो केहि समय पश्चात विद्यालयको छतबाट उसको कक्षाकोठा खानेपानीको धाराको कुना भएको थियो ।
स्कुलमा आउदा लाइन नलागी त्यही कुनामा बस्ने खाजा खाने र त्यसैबाट घर जाने गर्ने थाल्यो । मैले पनि उसलाई नजिकबाट नियाली रहेको थिएँ ।
कोसिस हामीबाट नभएको होईन,कक्षाकोठा भित्र ल्याउन हरेक प्रयास गरिएको थियो त्यसका बाबजुद पनि उ कक्षाकोठा भित्र आउन मन गरेन । मैले पनि अन उसलाई एक हप्ता स्वतन्त्र रुपमा छोड्नु पर्छ जस्तो लाग्यो ।
किन भन्दा विद्यालय आउदा रुने बच्चा अचेल उ विद्यालय आउदा रुदैनथ्यो चाहे त्यो कुनामा बसोस् या कक्षाकोठामा परिवर्तन विस्तारै हुदै थियो ।
एकदिन विद्यालयमा शुक्रवारीय कार्यक्रम अन्तर्गत सबै विद्यार्थी नाचि रहेको बेला उ एक्लै परबाट नजिक नजिक आई हेरिरहेको थियो । त्यो कुनाबाट त्यो बच्चा नाचेको हेर्ने धेरै नजिक आएको थियो ।
मैले पनि हेर्ने व्यवस्था मिलाए । हेर्यो उसले नहासेर एकोहारो । बच्चा न हो खै यसको पनि नाच्ने रहर पो छकि भनेर सोधेँ मैले उ अनकनायो मैले हात दिए उसले समात्यो उठेर म सगैँ नाच्ने ठाँउ सम्म आयो मैले उसकै उमेरका अरु बच्चा जम्मा गरेर ल्याए नाच्न लगाए उ पनि अरु जस्तै गरेर नाच्न थाल्यो ।
नाच्यो पहिलो पटक मैले देखे पहिलो पटक खुसिले म गदगद भएँ सरहरु पनि खुसि भए । मुसुमुसु हाँसिरहेका थियौं हामी सबै पुरै वातावरण नै हँसिलो नाई दियो आज ।
नाच पश्चात उ सँग गफ गर्ने योजना बनाएको थिएँ । आज मैले बोलाए अनि कुरा गरे पारिवारीक कुरा देखि उसलाई मन पर्ने कुरा सम्म सके जति सबै भन्यो उसले । आज यति मजाले बोल्यो अचम्म नै माने यति लामो समय लागेको थियो ।
ताकि नजिक ल्याउन भोलिबाट उ कक्षाकोठा भित्र जानलाई तयार भएको थियो । मैले पनि उसलाई एक नयाँ स्कुल ड्रेस लगाई दिए उ खुसी भयो मैले भने “यो कपडा लगाएर आउने उ त्यहा बस्ने”, उसले पनि टाउको हल्लाएर हुन्छ भन्यो घर पठाए र पर्खिन थाले भोलीको दिन ।
भोलिको दिन आयो सधैं झैं स्कुल गएँ आज उ छिटो आएको रहेछ । लाइन लगाए हेरे लाइनमा साना बच्चाको पछाडी उभिएको एक्लो महसुस गरी लाइन लागेको ।
मैले लाइनमा लागेका सबै विद्यार्थीलाई भने उसलाई सबैले माया गर्नु साथी बनाउनु अनि परेको बेला सहयोग पनि गर्नु भनेर सम्झाएँ । विस्तारै उ डरबाट मुक्त हुदै थियो । आज उ एक महिना पछि कक्षाकोठा भित्र जादै थियो गयो पनि सधैं ।
विद्यालयको छत र त्यो धारको कुनामा बस्ने बच्चा आज साथीहरु माझ विस्तारै विस्तारै खेल्ने प्रयास गरिहेको थियो । अब उसले विस्तारै पढ्नेछ साथी बनाउनेछ सँगै खेल्नेछ ।
समय बित्दै जादा अचेल त्यो बच्चा एक्लै निरन्तर स्कुल आउने कक्षाकोठामा देखाउने हरेक क्रियाकलापमा अरु भन्दा उच्च प्रर्दशन गरिरहेको छ ।
अतः कुनैपनि बच्चा कमजोर हुदैन । उसलाई परिस्थिती र वातावरणले बनाउने रहेछ । जसका लागि हामीले सहयोगी भुमिका मात्र खेल्न सक्यौं भने कसैको भविष्य निर्माणमा ठुलै सहयोग हुने गर्दो रहेछ ।
हामी जस्ता शिक्षण पेशामा लागेका व्यक्तिसँग यस्ता कयौं घटनाहरु छन् जुन योनभन्दा फरक प्रकृतिका पनि छन जसलाई हामीले समयमै ध्यान दिई समाधान गर्ने कोसिस गर्नु पर्दछ ।
(लेखक महेश रावल श्री हिमा आधारभूत विद्यालय कोईरेलीका प्रधानाध्यापक हुन् । उनी जिल्लाकै उत्कृष्ट प्रधानाध्यापकको रुपमा परिचित छन् । )

जुम्ला दर्पण । २१ श्रावण २०८१, सोमबार १०:५०