जुम्लाको सरकारी टोली भगवती पुजाको लागि बाजुरा प्रस्थान

दर्पण संवाददाता जुम्ला
।  भगवती पुजाका लागि जुम्लाको सरकारी टोली बाजुरा प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पुजाआजाका लागि त्यसतर्फ जुम्लाको एक सरकारी टोली प्रस्थान गरेको हो । सरकारी टोलीको नेतृत्व जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीले गरेका छन् ।

उक्त टोलीमा पुजारी विष्णुप्रसाद उपाध्याय सहित दर्जनौ भक्तजन सम्मिलित छन् । हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन छ । सोही अनुसार मंगलबार जुम्लाको टोली बडिमालिका गएको जुम्लाका संस्कृति सम्बन्धि जानकार रमानन्द आर्चायले बताए ।
टोलीलाई नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,पाँच वटा सलामी,ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोली सहित बडिमालिका हिँडेको टोलीलाई भव्य बिदाइ गरिएको छ ।

परम्परादेखि नै हरेक नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ । डोटी बाजुराको टोली बडिमालिका आउने जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ ।

नेपाली सेनाको सलामीसहित टोलीलाई जुम्लाका सयौ भक्तजन, सरकारी तथा गैससका प्रतिनिधिहरूले फूलमाला अबिर सहित बिदाइ गरेका छन् । प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंका अनुसार बडीमालिका जाने टोली सुरक्षार्थ सिमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालय संग समन्वय भएको छ । बडिमालिकाबाट टोली आगामी भदौ १ गते अर्थात १६ दिनपछि जुम्ला फर्किने छ ।