जुम्ला । कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आएको पहिरोले राजमार्ग अवरुद्ध भएकाे हाे । लगातार परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग बिहानैदेखि अवरुद्ध हुँदा आवातजावत बन्द् भएकाे छ ।
कालीकोटको शुभ कालिका गाउँपालिका –१ गगनलेखोला,एसमोड,कालेखोला लगायतका स्थापनामा साना ठुला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।
बिहानैदेखि राजमार्ग अवरुद्ध भएपछि जुम्ला मुगुबाट सुर्खेत,नेपालगन्ज काठमाडौँ जाने यात्रु बाहक तथा मालवाहक गरी सयौँ सवारी तथा यात्रुहरू अलपत्र परेका छन् ।
गगनेखोलामा ठुलो ढुङ्गा सहितको लेदो माटोको पहिरो आउँदा सडक अवरुद्ध भएको र बिहानैदेखि पहिरो पन्छाउने कार्य जारी रहेको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीर बहादुर जीटिले बताए ।
गगनेखोला बाहेक अन्य स्थानमा गाह्रो नभएको र पहिरो पन्छाउने बेला सम्म धैर्य गरिदिन समेत सूचना अधिकारी जीटिले सबै यात्रुलाई आग्रह गरेका छन् ।
सडक डिभिजनको मेसिन सहित जनशक्ति बिहानै ६ बजेदेखि पहिरो पन्छाउन जुटेका छन् । यद्यपि,ढुङ्गा ठुलो नै भएकोले पहिरो पन्छाउन भने समय लाग्ने देखिएको छ ।
गोगने खोलाको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएपछि अहिले राजमार्ग ठप्प छ । कालिकोटबाट सुर्खेत जाने यातायातका साधनलाई प्रहरीले हुल्मबजारमा रोकेको छ ।
जुम्ला दर्पण । २३ श्रावण २०८१, बुधबार १२:११