तिलामा बजेट अभावमा जीर्ण बन्दै सडक

जुम्ला :  तिला गाउँपालिका १– रारासेरी सितानगर जिरो प्वाइन्ट देखि वडा नक्बर ६ र ७ सडक बजेट अभावमा जीर्ण बन्दै गएको छ । गाउँपालिकाका तीन वटा वडा जोड्ने रणनीतिक सडक बजेट व्यवस्थापन हुन नसक्दा करीब १३ किलोमीटर सडक खण्ड जीर्ण बन्दै गएको हो । उक्त सडक खण्डमा अहिले घाँस उम्रिएको छ ।

उक्त सडक खण्डमा साविकको घोडेमहादेव गाउँ विकास समिति हाल तिला गाउँपालिका ६ र ७ लाई जोड्ने १३ किलोमीटर अलपत्र अवस्थामा परेको स्थानीय गोविचन्द्र रोकायाले बताए । उनका अनुसार गा.वि.स.हँुदादेखि नै बजेट २०७४ सालमा स्थानीय तह कार्यान्वयनमा आएपछि पनि गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ मा ९० लाख बजेट ठेक्का प्रक्रिया र २५ लाख  उपभोक्ता समिति गरी कूल १ करोड १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यतिबेला १३ किलोमीटर ट्याक खोल्ने काम भएपनि त्यसपछि भने काम हुन नसकेको  रोकायाको भनाइ छ ।

पछिल्ला केही वर्षयता भने उक्त सडक खण्ड स्तरोन्नतीका लागि कुनै पनि सरकारले चासो नदेखाएको स्थानीय गुनासो गर्छन् । सडक स्तरोन्नतीको संघ र प्रदेशमा समेत धेरैपटक बजेट माग गरिएको तर सुनुवाई नभएको बताइएको छ ।

सडक नबन्दा अहिले पनि त्यस क्षेत्रका नागरिक दैनिक उपभोग किनबेच गर्न खच्चड प्रयोग गर्न बाध्य छन् । स्थानीय बाँचु रावत नुन ,चामल, तेल लगायतका दैनिक उपभोग्य वस्तु खरिद् बिक्रि गर्नको लागि घोडा र खच्चडका साथै कतिपय अवस्थामा बोकेरै लिनुपर्ने बाध्यता रहेको सुनाउँछिन् । ‘ रोड त खनिएको छ । अब खैँ कहिले गाडी गुड्ने हो थाहा छैन,‘ उनी भन्छिन्,‘गाउँमा कोही बिरामी हुँदा,सुत्केरी हँुदा पैदल हिड्नुपर्ने बाध्यता छ ।’

ती बस्तीबाट तीन वटा वडाका नागरिक दैनिक उपभोग्य वस्तु तथा सुत्केरी अवस्थामा समेत रारा र नाग्म बजार आउने गर्छन । वडा नम्बर ६ कै पूर्व वडाअध्यक्ष भक्त रोकाया राज्यले विकासमा आफूहरुलाई सौतेनी व्यवहार गरेको बताउँछन् । आफूले चुनेका जनप्रतिनिधिहरुले समेत स्थानीयको आवश्यकता पूर्ति नगरीदिदाँ समस्या झेल्नु परेको उनको भनाइ छ । सडक नभएकै यी क्षेत्रमा उत्पादन हुने वस्तु आलु सिमी,जडिबुटी बजारीकरणमा समस्या भइरहेको छ ।